मानव आवाज

२०८३ असोज ७ गते
00: 00: 00
२०८३ असोज ७ गते

दलित अधिकार तथा विकास विधेयकमा स्थानीय तहको भूमिका स्पष्ट पार्न सुझाव

पोखरा । नेपाल सरकारले तयार गरेको ‘दलित अधिकार तथा विकास विधेयक’को मस्यौदामा दलित समुदायका अधिकार, सामाजिक-आर्थिक विकास र कार्यान्वयनका सम्भावित पक्षबारे पोखरामा छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।

‘जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध’ भन्ने नारासहित दलित महिला सङ्घ (फेडो) गण्डकी प्रदेश समितिको आयोजनामा प्रस्तावित विधेयकमाथि राय तथा सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यक्रम २०८३ असोज ७ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीकी सदस्य सीतादेवी विश्वकर्माले दलित समुदायको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

उहाँले निजी विद्यालय तथा अस्पतालमा दलित र विपन्न समुदायका लागि निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने, दलित महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

विधेयकमा दलित समुदायका सामाजिक, आर्थिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रभावकारी रूपमा समेटिनुपर्ने उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले प्रस्तावित विधेयकलाई व्यवहारिक र कार्यान्वयनमुखी बनाउन स्थानीय तहको भूमिकासमेत स्पष्ट पारिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सामाजिक अभियन्ता लालबहादुर परियार, पोखरा महानगरपालिका–३ का वडा सदस्य सनकमान सिग्देल र पोखरा महानगरपालिका-१६ का वडा सदस्य मञ्जु नेपालीले प्रस्तावित विधेयकमा समेटिनुपर्ने विषय तथा सुधार गर्नुपर्ने प्रावधानबारे सुझाव दिनुभएको थियो ।

कार्यक्रममा अधिवक्ता शिव सुनारले प्रस्तावित विधेयकका प्रमुख व्यवस्था, दलित अधिकारको संवैधानिक आधार तथा विधेयकले सम्बोधन गर्न खोजेका विषयबारे सहजीकरण गर्नुभएको थियो ।

फेडो गण्डकी प्रदेश समितिकी अध्यक्ष सुमित्रा गायकले जातीय भेदभाव तथा छुवाछुत र लैङ्गिक विभेदको दोहोरो शोषणमा परेका दलित तथा सीमान्तकृत महिलालाई सङ्गठित, सचेत र सशक्त बनाउँदै उनीहरूको अधिकार स्थापित गर्ने उद्देश्यले संस्थाले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा विधेयकको मस्यौदामाथि सहभागीबिच छलफल गरी विभिन्न राय तथा सुझाव सङ्कलन गरिएको थियो ।

प्रदेश अध्यक्ष गायकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य सरस्वती परियारले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक तनुजा परियारले सञ्चालन गर्नुभएको थियो ।

फेडोका अगुवा अभियन्ता, समूहका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसहित ५५ जनाको सहभागिता रहेको कार्यक्रमकी सहायक शर्मिला सुनार रसाइलीले जानकारी दिनुभयो ।

Author

सम्बन्धित समाचार