मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुर नीति तथा कार्यक्रमको तयारीमा, सांसदहरूका सुझाव !

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम निर्माणको सन्दर्भमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यहरूसँग छलफल आयोजना गरेको छ।

छलफलमा सहभागी प्रतिनिधिहरुले विशेषगरी युवालाई रोजगारीसँग जोड्ने दीर्घकालीन र प्रभावकारी नीतिगत व्यवस्था गर्न सुझाव दिएका छन्।

ललितपुर क्षेत्र नं. १ का सङ्घीय सांसद नेपाली कांग्रेसका उदयशम्शेर राणाले संघीय सरकारको बजेट साँघुरिँदै गइरहेको अवस्थामा स्थानीय तहको बजेटको सदुपयोग गर्न आग्रह गर्नु भयो ।

उहाँले चक्रपथ क्षेत्रमा एकैपटक फ्लाइओभर र अन्डरपास निर्माण गर्न सके आगामी १० वर्षका लागि समस्या नआउने बताउँदै सुनाकोठी क्षेत्रको सडक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

सुनाकोठीका स्थानीय बासिन्दा जग्गा छाड्न तयार रहेको बताउँदै १८ घरलाई मुआब्जा दिइसकेको बताउनु भयो । राणाले बाँकीलाई पनि प्राथमिकता दिनुपर्ने बतातउनु भयो ।

सांसद राणाले कान्तिलोकपथ व्यवस्थित गर्न सके वीरगञ्जसम्मको पहुँच सहज हुने भन्दै नख्खु करिडोरको व्यवस्थापन पनि आवश्यक रहेको बताउनु भयो ।

ललितपुर क्षेत्र नं. २ का सांसद प्रेमबहादुर महर्जनले हस्तकला प्रवर्द्धर्धन, युवा रोजगारी सिर्जना र उद्योग व्यवसायमैत्री योजनालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार, पुरातात्त्विक सम्पदाको संरक्षण, फोहोर व्यवस्थापन र सामाजिक न्यायलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न सुझाव दिनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य रोशन कार्कीले सार्वजनिक जग्गाको संरक्षण र सामुदायिक विद्यालयका भौतिक संरचनाको दुरुपयोग रोक्न  विशेष पहल गर्न आग्रह गर्नु भयो ।

बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सडक मापदण्डभित्र संरचना निर्माणमा रोक, नख्खु करिडोर मर्मत, युवा रोजगारी, हाटबजार व्यवस्थापन, वातावरण संरक्षण र खोलानालाको सरसफाइ जस्ता विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताउनु भयो।

महानगर प्रमुख चिरीबाबु महर्जनले सबै क्षेत्रका सरोकारवालासँग सुझाव सङ्कलन गरेर नीति बनाइँदै गरेको जानकारी दिनु भयो ।

 “सांसदहरूबाट प्राप्त सुझावहरू महत्त्वपूर्ण छन्, ती सुझावहरू समेटेर आगामी नीति तथा कार्यक्रम तयार पारिन्छ ।”-उहाँले भन्नुभयो।

उपप्रमुख तथा बजेट तर्जुमा समितिकी संयोजक मञ्जली शाक्य बज्राचार्यले नीति सशक्त भए मात्र कार्यक्रम र बजेट प्रभावकारी हुने बताउँदै चरणबद्ध छलफलको आवश्यकता औंल्याउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक योजनाको ८९ प्रतिशत कार्यान्वयन सफल भएको जानकारी दिनु भयो ।

Author

Related News