ललितपुर । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी समूहको आह्वानमा भएको प्रदर्शनमा प्रहरीले गरेको अन्धाधुन्ध र असमानुपातिक बल प्रयोगप्रति जबाफदेहिता निगरानी समितिले घोर निन्दा गरेको छ ।
समितिले घटनाको स्वतन्त्र छानबिन र जेनजीका जायज माग तत्काल सम्बोधन गर्न सरकारलाई जोडदार माग गरेको छ।
समितिका अनुसार प्रदर्शनमा प्रहरीले प्रयोग गरेको बलका कारण दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
समितिले यसलाई लोकतान्त्रिक मूल्य र मानवअधिकार उल्लंघनको गम्भीर घटना भन्दै सरकार जिम्मेवार रहेको ठहर गरेको छ ।
प्रहरी बलप्रयोगका स्थापित मान्यता उल्लङ्घन गर्दै नागरिकको जीवनमा ठूलो क्षति पुर्याइएको आरोप लगाउँदै समितिले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी जिम्मेवारलाई कारबाही गर्न माग गरेको छ ।
साथै मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने समितिको भनाइ छ ।
समितिले प्रधानमन्त्री र मन्त्रीहरूका हठपूर्ण अभिव्यक्ति, आन्दोलनलाई शान्तिपूर्ण बनाउन पूर्वसावधानी नअपनाएको र सुरक्षात्मक तयारीमा सरकार असफल भएको कारणले घटना घटेको दाबी गरेको छ ।
त्यस्तै, समितिले राष्ट्रिय मानव अधिकार आयोग पनि संवैधानिक जिम्मेवारी पुरा गर्न असफल भएको भन्दै खेद प्रकट गरेको छ । आयोगले घटनाबारे तत्काल स्वतन्त्र छानबिन गरी जवाफदेहिता प्रवद्र्धन गर्नुपर्ने समितिको माग छ ।
जबाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाई, सह–संयोजक राजन कुईंकेल र रुकमनी महर्जनसहित २० जनाभन्दा बढी मानवअधिकारकर्मीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा घटनाप्रति सार्वजनिक क्षमायाचना गर्न तथा कम्तिमा सूचना तथा सञ्चार मन्त्री र गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ ।
यसैगरी अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ भदौ २३ गते एक विज्ञप्ति प्रकाशन गरी जेनजीले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको भर्त्सना गरेको छ ।
विज्ञप्तिमा भनिएको छ-‘भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले २०८२ भदौ २३ गते काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोगको हामी भर्त्सना गर्दछौँ ।’
विज्ञप्तिमा निशस्त्र प्रदर्शन नियन्त्रण गर्ने अनेकौँ तरिका अवलम्बन नगरी अत्यधिक बल प्रयोग गरिँदा भएको हताहतिले मानव अधिकार, लोकतान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको उल्लेख गरिएको छ ।