रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुली जिल्लामा चैत २ गते बेलुका आएको शक्तिशाली हुरीबतासका कारण विद्यालय भवनसहित दर्जनौँ घरमा क्षति पुगेको छ ।
हुरीले १२ ओटाभन्दा बढी घरका छाना उडाउनुका साथै कृषि बालीमा समेत ठूलो नोक्सानी पुर्याएको छ ।
गोलन्जोर गाउँपालिका-१ स्थित प्रावि जुकेपानीको भवनको छाना पूर्ण रूपमा उडेपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।
वडा अध्यक्ष सोमप्रसाद बरालका अनुसार जुकेपानी, सारौटार, च्याकुटार, धनसार र बिर्ता क्षेत्रमा हालसम्म कम्तीमा नौ ओटा घरको छाना उडेको विवरण प्राप्त भएको छ ।
घरको छाना उडेपछि प्रभावित परिवारहरू आफन्त तथा छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् ।
त्यसैगरी, गोलन्जोर गाउँपालिका-२ को रजाय क्षेत्रमा थप पाँच ओटा घरमा क्षति पुगेको छ । तीनपाटन गाउँपालिका-९ सालुकेमा हुरीबतासपछि भएको आगलागीमा एक घर र गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
यस्तै, तीनपाटन गाउँपालिकाको प्रशासनिक भवन र वडा नं. ४ कार्यालयका झ्यालका सिसाहरू फुटेर क्षति पुगेको छ ।
हुरीबतासका कारण विद्युत् पोल तथा तारमा क्षति पुगेपछि घ्याङ्लेख, सुनकोसी, गोलन्जोर, फिक्कल, तीनपाटन र मरिण गाउँपालिका लगायतका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
विद्युत् अभावका कारण मोबाइल चार्ज गर्न नसकिँदा सञ्चार सम्पर्क समेत प्रभावित भएको छ, जसले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । नेपाल विद्युत् प्राधिकरण, सिन्धुली वितरण केन्द्रका इन्जिनियर केशव खत्रीका अनुसार अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोली तीव्र रूपमा खटिएको छ ।
हुरीबतासले किसानका तरकारी तथा फलफूल बालीमा समेत ठूलो क्षति पुर्याएको छ । प्रभावित स्थानीयहरूले तत्काल राहत र पुनर्स्थापनाका लागि सरकारसँग माग गरेका छन् ।