ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न निर्देशन दिएको छ ।
भ्रष्टाचारविरुद्ध जेनजी समूहको आह्वानमा २०८२ भदौ २३ गते काठमाडौँसहित विभिन्न शहरमा भएका प्रदर्शनका क्रममा दर्जनौँ नागरिकको ज्यान जाने र धेरै घाइते हुने अवस्थापछि आयोगले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
आयोगका अनुसार काठमाडौँ, पोखरा, बुटवल, चितवन, विराटनगर, रौतहट, सुनसरी, झापा, दाङलगायत स्थानमा प्रदर्शन भएको थियो ।
राजधानीमा माइतीघरबाट शुरु भई संसद भवनसम्म पुगेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रयोग गरेको आयोगको अनुगमन टोलीले जनाएको छ ।
यो क्रममा दर्जनभन्दा बढीको मृत्यु भएको र धेरै घाइते भएको आयोगले पुष्टि गरेको छ । आयोगले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।
“नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनअनुसार नागरिकलाई शान्तिपूर्ण रूपमा आफ्नो विमति राख्ने अधिकार सुरक्षित छ । सरकार जिम्मेवार भएर त्यसलाई सम्बोधन गर्नुपर्छ ।”-विज्ञप्तिमा भनिएको छ ।
आयोगले प्रदर्शनलाई हिंसा, तोडफोड र आगजनीमा बदलिनु दुःखद् भएको उल्लेख गर्दै प्रदर्शनकारीलाई समेत संयमित र शान्तिपूर्ण बन्न आग्रह गरेको छ ।
घटनाबारे निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिँदै आयोगले सरकारलाई पछिल्लो पुस्ताले उठाएका आवाजलाई समयमै सम्बोधन गर्न आह्वान गरेको छ ।
