मानव आवाज

२०८३ असोज ६ गते
00: 00: 00
२०८३ असोज ६ गते

बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालाको जोड

पोखरा । निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकारलाई व्यवहारमै प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यालयबाहिर रहेका बालबालिकाको पहिचान, पुनःसमावेश र सबै बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा पोखरामा आयोजित अन्तरक्रियाका सहभागीले जोड दिएका छन् ।

बहिनी एडुकेयर फाउण्डेसन पोखराको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको समन्वयमा २०८३ असोज ६ गते ‘निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार र कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति दिँदै कुनै पनि बहानामा बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो ।

बालबालिकाको शिक्षाको अधिकार प्रभावकारी कार्यान्वयन गर्नु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो ।

बहिनी एडुकेयर फाउण्डेसनका कार्यकारी निर्देशक सुरेन्द्र परियारले निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय, सरकारी निकाय र सामाजिक सङ्घसंस्थाबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालयकी प्रमुख नितु गर्तौलाले निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनमा सामाजिक सङ्घसंस्थाले राज्यलाई सहयोग गर्दै आएको बताउनुभयो ।

गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले पनि शिक्षामा पहुँच विस्तारका लागि गैरसरकारी क्षेत्रले सरकारसँग सहकार्य गरिरहेको बताउनुभयो ।

बहिनी एडुकेयर फाउण्डेसनका अध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका शिक्षा शाखाका प्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, विद्यालयका प्रधानाध्यापक, बाल क्लबका पदाधिकारी तथा सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन फाउण्डेशनको दिगो विकास भविष्य कार्यक्रमकी संयोजक देवी चन्दले गर्नुभएको थियो ।

Author

सम्बन्धित समाचार