मानव आवाज

२०८३ भदौ २९ गते
00: 00: 00
२०८३ भदौ २९ गते

द्वन्द्व, हिंसा र विपद्बाट बालबालिकालाई संरक्षण गर्न सरोकारवालाको जोड

काठमाडौँ । सशस्त्र द्वन्द्व, हिंसा, विपद् तथा विभिन्न आन्दोलनका क्रममा बालबालिका र किशोरकिशोरी बढी प्रभावित हुने भएकाले उनीहरूको संरक्षणका लागि राज्यले पूर्वतयारी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा सशस्त्र द्वन्द्व, ‘जेनजी’ प्रदर्शन, विपद् तथा विभिन्न आन्दोलनका क्रममा मृत्यु भएका बालबालिका तथा किशोरकिशोरीको सम्झनामा सोमबार सिनामंगलस्थित शान्ति बालबालिका पार्कमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न नागरिक सङ्घसंस्था तथा सञ्जालका प्रतिनिधिको सहभागिता थियो ।

सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको सुरक्षाप्रति तीनै तहका सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

जस्तोसुकै आन्दोलन, द्वन्द्व, हिंसा वा विपद्मा सबैभन्दा बढी पीडित र प्रभावित हुने वर्ग बालबालिका भएकाले उनीहरूको सुरक्षामा पर्याप्त लगानी हुन नसकेको र पूर्वतयारीमा समेत ध्यान नदिइएको उहाँले बताउनुभयो ।

घटना भएपछि उद्धार र राहतमा केन्द्रित हुनुभन्दा घटना हुनुअघि नै जोखिम न्यूनीकरण र रोकथाम गर्ने प्रकृतिका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा भोटेकोशी बाढीमा अभिभावक बेपत्ता भएका बालबालिका, हराइरहेका बालबालिकाको खोजीमा रहेका अभिभावक तथा प्रभावित परिवारलाई राज्यले विशेष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिइएको थियो ।

विपद्का समयमा बालविवाह, बालश्रम तथा बालबालिका बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै सरोकारवालाले बालबालिकाको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका थिए ।

गर्भवती तथा सुत्केरी र अपाङ्गता भएका बालबालिकाको अवस्था विपद्का बेला थप जटिल हुने भएकाले उनीहरूका लागि विशेष संरक्षण र सहायता आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्वउपाध्यक्ष आयुषा पाण्डे, राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह, एटविन तथा समग्र बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जालका तर्फबाट बेनुमाया गुरुङ, सिविनका कुमार भट्टराई, गैरसरकारी संस्था महासङ्घका उपमहासचिव किरण थापा, राष्ट्रिय बाल अधिकार परिषद्का श्रीराम अधिकारी तथा सिजपका राजु घिमिरेले राष्ट्रिय बाल दिवस र बालबालिकाका सवालबारे धारणा राख्नुभएको थियो ।

वक्ताहरूले बालअधिकारको संरक्षण र प्रवर्धनका लागि बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, बेपत्ता बालबालिकाको खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिनुपर्ने र शान्ति बालबालिका पार्कको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

विपद् तथा विभिन्न परिस्थितिमा अप्ठ्यारोमा परेका बालबालिकाका लागि साझा कार्यक्रम सञ्चालन गर्नुपर्ने र बालबालिकाका सवालमा उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने मागसमेत सहभागीले गरेका थिए ।

जलवायु परिवर्तनका कारण बालबालिकामा परेको असरलाई सम्बोधन गर्न जलवायु शासनलाई बालमैत्री बनाउनुपर्ने तथा जलवायु परिवर्तनबाट भएको क्षतिका लागि क्षतिपूर्तिको विषयलाई समेत प्राथमिकताका साथ उठाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए ।

प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवसका दिन शान्ति बालबालिका पार्कमा दीप प्रज्वलन गर्ने परम्परा रहँदै आएको छ ।

Author

सम्बन्धित समाचार