ललितपुर । रिकोडको आयोजनामा श्री देवी माध्यमिक विद्यालय, देवीचौरमा पोषण र सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत २०८२ भदौ २० गते हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जम्मा आठ टोलीले सहभागिता जनाएका थिए । तीमध्ये कक्षा ३ देखि ६ सम्मका विद्यार्थीबिच चार टोली र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीबिच चार टोलीबीच प्रतिस्पर्धा भएको थियो । प्रत्येक टोलीमा तीन-तीन जना विद्यार्थी सहभागी भएका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई पुरस्कार प्रदान गरिएको रिकोडकी देवीचौर सहजकर्ता गीता तिमल्सिनाले बताउनु भएको छ ।
पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि चौहान र अन्य शिक्षक तथा रिकोडका प्रतिनिधिले विद्यार्थीहरूको सक्रिय सहभागिता र सिर्जनात्मकतालाई प्रशंसा गर्दै यस्ता कार्यक्रमले सिकाइलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।