रुद्रबहादुर खड्का, काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा कोही मालिक र दास नभएको स्पष्ट पार्दै कांग्रेस जिउँदा मानिसहरूको पार्टी भएको बताउनुभएको छ ।
भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र प्रश्न मरेको छैन र यहाँ नबोल भन्ने कोही नभएको जिकिर गर्नु भयो ।
महामन्त्री थापाले विशेष महाधिवेशन कोही व्यक्ति बन्ने–नबन्ने विषय नभइ पार्टी बचाउने संघर्ष भएको बताउँदै महाधिवेशनको बन्दसत्रले जे निर्णय गर्छ, त्यो आफूलाई स्वीकार्य हुने धारणा राख्नु भयो ।
यो विशेष महाधिवेशन नेतृत्वको चाहनाभन्दा प्रतिनिधिहरूको मागअनुसार आह्वान गरिएको उहाँको भनाइ थियो ।
उहाँले पार्टीका कार्यकर्तालाई अब कसैले हेप्न नसक्ने अवस्था बनाउनैपर्ने उल्लेख गर्दै कांग्रेस लासहरूको होइन, जिउँदा र सोच्ने मानिसहरूको पार्टी भएको टिप्पणी गर्नु भयो ।
उद्घाटन सत्रमै महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पनि बदलिने र देश पनि बदलिने बताउनु भयो ।
‘हामी नेपाली कांग्रेसलाई पनि बदल्छौँ र देशलाई पनि बदल्छौँ । जसले आफूलाई बदल्न सक्छ, उसैले देश पनि बदल्न सक्छ ।’-उहाँले भन्नु भयो ।
महामन्त्री शर्माले पार्टीभित्र देखिएका कमजोरीहरूको जिम्मेवारी ड्राइभिङ सिट नजिक बसेकाहरूले पनि लिनुपर्ने स्वीकार गर्दै ती कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
विशेष महाधिवेशनले पार्टीभित्र नयाँ आत्मविश्वास र देशमा नयाँ आशा जगाउने उहाँको विश्वास थियो ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर भविष्य निर्माण नहुने तर्क गर्नु भयो ।
उहाँले अहिले जनताको अपेक्षा र पुस्ता बदलिएको भन्दै पार्टी सञ्चालन शैली पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
‘देश नै रहेन भने कससँग शासन गर्ने ? कांग्रेसले राणा शासन फाल्यो, गणतन्त्र ल्यायो तर अब इतिहासको ब्याज मात्र खाएर भविष्य चल्दैन ।’-उहाँले भन्नु भयो । नयाँ युवायुवतीलाई नेतृत्वमा ल्याएर देशभर परिचालन गर्नुपर्ने उहाँको जोड थियो ।
पूर्वउपसभापति श्रेष्ठले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश जटिल अवस्थामा पुगेको उल्लेख गर्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।
यसैबिच भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा पेस गरिएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ सर्वसम्मत पारित भएको छ ।
ज्येष्ठ सदस्य श्यामकुमार खड्काको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा महाधिवेशन प्रतिनिधि नारायण भट्टराईले पेस गरेको कार्यविधि पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको हो ।
कार्यविधिमा समसामयिक राजनीतिक समीक्षा, राजनीतिक तथा पार्टी नीति र विधान संशोधनसम्बन्धी विषयहरू समेटिएका छन् ।