मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

विद्युत् सहकारीको रजतवर्ष कार्यक्रममा स्मारिका विमोचन, बिजुलीबारे चर्चा

ललितपुर । “सहकारिता मार्फत सामुदायिक विद्युतीकरण, आर्थिक विकास र सामाजिक रुपान्तरण” भन्ने नारासहित क्रियाशील दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्थाको रजत वर्ष २०८२ को समापन समारोह २०८२ चैत २६ गते आयोजना गरिएको छ ।

कार्यक्रमा ललितपुर निर्वाचन क्षेत्र नं १ का सांसद बुद्धरत्न महर्जनले दक्षिण ललितपुरको विकासका लागि आफू समुदायसँगसँगै रहने बताउनु भयो ।

उहाँले भन्नु भयो- ‘म ५-६ पटक सबै गाउँ पुगेको छु । यहाँका नागरिकको दुःख र मर्का बुझेको छु । विद्युत् सेवामा परेको मर्काबारे पनि बुझेको छु । त्यसैले समाधान गर्ने काममा म सहकारी सँगसँगै रहने छु ।’

कार्यक्रममा पूर्व जलस्रोत मन्त्री दीपक ज्ञवालीले विद्युत वितरणको काम स्थानीय सरकार र समुदायले गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष डिल्लीप्रसाद घिमिरे, पूर्वअध्यक्ष गोपाल सञ्जेल र पूर्वअध्यक्ष रामकृष्ण हुमागाईँले अभियानदेखि अहिलेसम्मका उकालीओरालीबारे अनुभव सुनाउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाइँले विगतको यात्रालाई मूल्याङ्कन गर्दै आगामी दिनमा सामुदायिक विद्युतीकरणलाई अझ सशक्त ढङ्गले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपालकै पहिलो विद्युत सहकारीका रुपमा स्थापित यस संस्थाले सामुदायिक विद्युत सेवाको २१ वर्ष पूरा गरेको छ ।

सहकारीले २०५४ असोज ७ गते सामुदायिक विद्युतीकरण अभियान प्रारम्भ गरेको थियो भने २०५७ साउन १७ गते औपचारिक रुपमा सहकारी स्थापना भई २०६१ भदौ २ गते देवीचौरबाट विद्युत सेवा प्रारम्भ गरेको हो ।

यसैबिच सहकारीले प्रकाशन गरेको सामुदायिक विद्युत्को जीवन्त अभिलेखलाई हाइलाइट गरिएको सामुदायिक विद्युत रजतवर्ष २०८२ स्मारिकाको विमोचन गरिएको छ ।

‘प्राज्ञिक कर्मको प्रतिफल यो सामुदायिक विद्युत् स्मारिका प्रकाशनका हिसाबले छैटौँ शृङ्खला हो । यो शृङ्खला रजतवर्षको सन्दर्भमा प्रकाशन गरिएकाले यसको अर्थ र महत्व पनि छ । यो अङ्कले २५ वर्षको सपाट इतिहास बोकेको छ । यसले २५ वर्ष अघिको अँध्यारो दक्षिण ललितपुरलाई अक्षरका माध्यमबाट सचित्र वर्णन गरेको छ । बिजुली बत्तीको आवश्यकता  र अङ्कुरणबारे बोलेको छ । यो किताब त्यसपछिका दिनमा गरिएका पहल र प्रयासको साक्षी हो । भावी दिनमा गर्नुपर्ने मार्गचित्रसमेत यो किताबले प्रस्तुत गरेको छ ।’-स्मारिकामा भनिएको छ ।

यो स्मारिकाले सामुदायिक विद्युत् र दक्षिण ललितपुरको विविधताबारे प्रष्टसँग बोलेको छ । ३ सय पेजको यो स्मारिका ६ खण्डमा विभाजित छ ।

स्मारिकाको पहिलो खण्डमा विगतको यात्रा समेटिएको छ । यो खण्डमा विद्युत सहकारी बन्नुअघिदेखिका घटनाक्रम र विविरण तथा अभियानका विषयवस्तुलाई समेट्छ । जसमा १० ओटा शीर्षकमा अन्तर्वार्ता तथा लेख समेटिएको छ ।

त्यसैगरी दोस्रो खण्डमा १९ शीर्षकका सामग्री छन् । यो खण्डको नाम विचारविमर्श राखिएको छ । यस खण्डमा विज्ञका विचार र विश्लेषण तथा पत्रकारले लेख्नुभएका फिचर समेटिएको छ ।

तेस्रो खण्डलाई कुराकानी खण्डको नाम दिइएको छ । यो खण्डमा आठ जनासँग गरिएको कुराकानी र दुई ओटा समूहमा गरिएको छलफललाई स्थान दिइएको छ ।

चौथो खण्डमा अुभूति समावेश गरिएको छ । २३ जनाका अनुभूतिलाई यो खण्डमा राखेर प्रकाशन गरिएको छ ।  पाँचौ खण्डमा विद्युत्का विषयमा लेखिएका १० जनाका सिर्जना समावेश छ ।

२५ वर्षे इतिहासलाई देखाउने तस्बिर छैटौँ खण्डमा समावेश गरिएको छ । यो खण्डमा वडागत चित्रण, अभियानदेखि अहिलेसम्मका कार्यसमिति र कर्मचारीका विवरण तथा मुख्य गतिविधिका केही प्रतिनिधिमूलक तस्बिर छन् ।

त्यसैगरी छापा सामुदायिक विद्युत्को सङ्कलन र सहकारीले निर्माण गरेको कक्ष १ देखि कक्षा ५ सम्मका पाठ्यक्रम र पाठ्यपुस्तकका कभर फोटो राखिएको छ ।

यो स्मारिकामा चार ओटा सामग्री तामाङ भाषामा राखिएको छ । बिजुलीले यहाँको समुदायमा पारेको बहुआयामिक प्रभावबारे स्मारिकाले बोलेको छ ।

Author

Related News