ललितपुर । अविरल वर्षाका कारण ललितपुरको दक्षिणी भेगका अधिकांश बस्ती विद्युत तथा सञ्चार सेवाबाट बिच्छेद भएका छन्। लगातारको वर्षाले बिजुली अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेट सेवा समेत ठप्प बनेका छन् ।
महाङ्काल, बागमती र कोन्ज्योसोम गाउँपालिकाका धेरै स्थानमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल टेलिकम र एनसेलको नेटवर्क चल्न नसकेको ललितपुर प्रहरीका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो-‘फूलचोकीको टावरले अलिअलि काम गर्न थालेको छ । अहिलेसम्म कुनै अप्रिय खबर नआएको र दक्षीणी भेगका प्रहरी सम्पर्कमा आउन थालेका छन् । हिजो अलिक कठिन थियो ।’
उहाँले विद्युत प्राधिकरण र टेलिकमका प्रतिनिधिसहित मर्मत सम्भारलगायतका आवश्यक कामका लागि टोली दक्षिण ललितपुरतर्फ जाने तयारी भइरहेको पनि जानकारी दिनु भयो ।
विद्युत अवरोधसँगै सञ्चार टावरका ब्याट्री ब्याकअप केही समयमै सकिने हुँदा सम्पर्क गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।