मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पितृप्रति श्रद्धा अर्पण गरिने सोह्र श्राद्ध आजदेखि सुरु

ललितपुर । वैदिक सनातन हिन्दू धर्म परम्परा अनुसार दिवङ्गत पितृप्रति श्रद्धा अर्पण गर्ने विशेष समय सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि सुरु भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत पात्रोअनुसार आज आश्विन कृष्ण प्रतिपदाको श्राद्ध अपराह्नसम्म गर्नुपर्ने प्रावधान छ ।

समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईका अनुसार प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका १६ तिथिमा तर्पण, सिदादान र पिण्डदान गर्ने भएकाले यसलाई ‘सोह्र श्राद्ध’ भनिन्छ ।

धर्मशास्त्रअनुसार यस अवधिमा पितृले आफ्ना सन्तानबाट तर्पणको अपेक्षा गर्ने भएकाले श्रद्धा भक्तिसाथ श्राद्ध गर्नुपर्छ भन्ने मान्यता छ । पितृ तृप्तिका लागि गरिएको यो कर्म नगरे अक्षम्य दोष लाग्ने धार्मिक विश्वास रहिआएको छ ।

शास्त्रअनुसार श्राद्ध अपराह्नमा गर्नुपर्ने भए पनि कतिपय पुरोहितले बिहानै गराउने प्रचलन शास्त्रसम्मत नभएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताउनु भयो ।

कुनै कारणले सोह्र श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) मा गर्न सकिन्छ ।

त्यसपछि पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने विकल्प धर्मशास्त्रमा उल्लेख छ। नसक्ने अवस्थामा ब्राह्मणमार्फत वा आफैँले दैनिक १०८ मन्त्र जप गरेर १० महिनासम्म साधना गरे पनि पितृ तृप्त हुने विश्वास रहिआएको छ ।

सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । ठूला चाडपर्व मनाउनुअघि पितृलाई सम्झेर तर्पण गर्ने परम्परा वैदिक सनातन संस्कृतिको अभिन्न अङ्ग मानिन्छ ।

श्राद्ध के हो ?

वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ ।

पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ । (हाम्रो पात्रोबाट)

Author

Related News