विराटनगर। विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ।
विराटनगर स्थित सहिद रङ्गशालामा २०८२ जेठ २६ र २७ गते सम्पन्न प्रतियोगितामा विभिन्न तौल प्रतिष्पर्धामा पाँच स्वर्ण प्राप्त गर्दै सोलुखुम्बुले उपाधि जितेको हो।
प्रतियोगितामा आयोजक विराट क्लब चार स्वर्ण तीन रजत र चार कास्य पदकसहित दोस्रो स्थानमा रह्यो भने तीन स्वर्णसहित ओखलढुङ्गा तेस्रो स्थानमा रहन सफल भएको छ ।
प्रतियोगितामा झापाले दुई स्वर्ण, तीन रजत र ६ कास्य पदक, ताप्लेजुङ्गले एक स्वर्ण र एक रजत, मोरङले पाँच रजत र आठ कास्य जित्न सफल भएको छ भने धनकुटाले दुई रजत, पाँचथरले एक रजत र तीन कास्य तथा उदयपुरले चार कास्यमा चित्त बुझाएको प्रतियोगिताकी संयोजक बिना बस्नेतले जानकारी दिनु भयो।
प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी सोलुखुम्बुका नवीन तामाङ र उत्कृष्ट महिला खेलाडी विराट कोशी क्लबकी रिया साह हुनुभएको बस्नेतले बताउनु भयो।
यसै प्रतियोगितामा क्लबले १३ औँ साग गेम्समा स्वर्ण पदक जित्न सफल झापाकी देविका खड्का, तेस्रो र चौथो दक्षिण एसियालीमा पदक प्राप्त विजेता काजी शेर्पा, पेरिस ओलम्पिकमा सहभागी खेलाडी पाँचथरकी मनिता श्रेष्ठ प्रधान र जुडो खेलका अन्तर्राष्ट्रिय निर्णायक ओखलढुङ्गाका सुर्यनारायण श्रेष्ठलाई सम्मान गरेको प्रतियोगिता आयोजक कमिटीका सदस्य विशाल बानियाँले जानकारी दिनुभयो।