पोखरा । ५० वर्ष नपुग्दै पोखराका सक्रिय सामाजिक अभियान्ता एवम् सञ्चारकर्मी कृष्णबहादुर थापाले ८२ औं पटक रक्तदान गर्नुभएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङकोट सहकारी तथा रेडियो सराङकोट अध्यक्ष थापा र सैनिक आवासीय महाविद्यालय फुलवारीकी शिक्षिका भवानी जोशी कायस्थलाई ब्लडब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भयो ।
क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव तथा प्रेस चौतारीका सदस्यसमेत रहनुभएका थापा नियमित रक्तदाता हुनुहुन्छ ।
आफ्नो जन्मदिनको अवसर पारेर थापाले गरेको यो ८२ औं पटकको रक्तदान हो। विक्रम सम्वत २०५५ फागुन ७ गते पोखरा वर्क्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा थापाले पहिलोपटक रक्तदान गर्नुभएको स्मरण गरियो ।
नियमित रूपमा प्रत्येक तीन महिनामा रक्तदान गर्दै आउनुभएका ४७ वर्षीय थापाले भन्नु भयो-“आत्मसन्तुष्टि, स्वास्थ्य र रगतको कुनै विकल्प नभएकाले पितृउद्धारका कार्यक्रमका लागि पनि निरन्तर रक्तदान गर्दै आएको छु ।”
उहाँले १७ वर्ष पूरा भइसकेका तथा ४५ किलोभन्दा बढी तौल भएका व्यक्तिहरूलाई आफ्नो जन्मदिनबाटै रक्तदान सुरु गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा पूर्वअध्यक्ष मल्लले तनहुँको छाङ्ग (गाविस)बाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइँ सरेका व्यक्तिहरूको साझा संस्था छाङ्गेली नेवा खलले सामाजिक कार्य र सांस्कृतिक गतिविधिसँगै रक्तदानलाई निरन्तरता दिइरहेकोमा खुसी व्यक्त गर्नु भयो ।
यो अवसरमा प्रदेश रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वबारे प्रकाश पार्नु भयो ।
पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिव गोकर्ण अधिकारी, लायन्स पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिव जयराम कायस्थलगायतले मन्तव्य व्यक्त गर्नु भयो ।
छाङ्गेली नेवा खल समाज पोखराले गाईजात्राको अवसरमा आयोजना गरेको सो रक्तदान कार्यक्रममा कुल ६२ युनिट रगत सङ्कलन भएको समाजका कार्यवाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रमको संयोजन समाजका सदस्य सञ्जय मल्लले गर्नुभएको थियो ।