मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

मुक्तिनाथ क्षेत्रमा हिमपात, प्रशासनद्वारा सतर्कताका लागि आग्रह

ललितपुर । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भइरहेको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन् ।

मुक्तिनाथ दर्शनका लागि गएराति मुस्ताङ पुग्नु भएका उद्धव शर्माले गएरातिबाट नै हिमपात भइरहेको बताउनु भयो ।

उहाँले  हिमपातका कारण चिसो ह्वात्तै बढेको बताउनु भयो । धार्मिक गुरुसमेत रहनुभएका शर्माले फेसबुक वालमा एउटा भिडियो पोष्ट गर्दै पारिवारिक यात्रामा मुक्तिनाथ पुगेको र मुक्तिनाथमा हिमपात भइरहेको उल्लेख गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिजै विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, ५ हजार ८ सय मिटर उचाइको याकखर्क क्षेत्र, ५ हजार ४ सय मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

त्यसैले यि क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनु भएको छ ।

मुस्ताङको अन्य भागमा समेत हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक १० गतेदेखि १२ गतेसम्म हिमपात हुने पूर्वानुमान रहेको भन्दै उच्च सतर्कताका लागि आग्रह गरेको छ ।

Author

Related News