पोखरा । “ऐक्यबद्धता, सभ्यता र हिंसामुक्त समाजः हाम्रो अभियान” भन्ने मूल नारासहित २०७५ सालमा स्थापित हातेमालो नागढुङ्गा आमा समूह, पोखरा महानगरपालिका–८, नागढुङ्गा, कास्कीको आयोजनामा तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा सीपमूलक तालिम सञ्चालन भइरहेको छ ।
चुरा, पोते, माला तथा टप बनाउनेसम्बन्धी पाँच दिने तालिम २०८२ पुस १९ गतेदेखि २३ गतेसम्म पोखरामा सञ्चालन भइरहेको हो ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ८ की वडा सदस्य पवित्रा के.सी.ले ब्यानर वाचन गरी गर्नुभएको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा सदस्य के.सी.ले पोखरा महानगरपालिकाले स्थानीय आमा समूहहरूलाई आत्मनिर्भर, उद्यमशील, नवप्रवर्धनशील र सामाजिक उत्तरदायित्वयुक्त बनाउने उद्देश्यले विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनु भयो ।
उहाँले आगामी दिनमा समयसापेक्ष तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने कार्यक्रमहरू अघि बढाइने जानकारी समेत दिनु भयो ।
तालिम केवल तालिममा सीमित नभई व्यवहारमा उतारेर आर्थिक रूपमा लाभदायक बनाउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले सहभागी प्रशिक्षार्थीहरूलाई आत्मविश्वासका साथ निरन्तर अभ्यास गर्न आग्रह गर्नु भयो । ज्ञान आर्जनभन्दा पनि ज्ञानलाई निरन्तरता दिनु महत्वपूर्ण विषय भएको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल गृह श्रमिक सङ्घकी केन्द्रीय उपाध्यक्ष लाली माया शर्मा रेग्मी, पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम, महिला उद्यमी उषा पौडेल, हिमालयन वाटर प्युरिफायर प्रा.लि.की सञ्चालक लक्ष्मी वास्तोला अधिकारी तथा महिला चेम्बर अफ कमर्स कास्कीकी अध्यक्ष जमुना पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरूलाई प्रतिस्पर्धी र आत्मनिर्भर बन्न प्रेरित गर्नु भयो ।
तालिममा महिला उद्यमी गोमा सुवेदी, दिपा पौडेल र निमकुमारी श्रेष्ठ पौडेलले सहजीकरण गरिरहनुभएको छ ।

हातेमालो नागढुङ्गा आमा समूहकी अध्यक्ष तथा सामाजिक अभियन्ता चेतमाया पङ्गेनी पौडेल (गीता)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक तथा सदस्य सावित्री घिमिरेले कार्यक्रमको उद्देश्य प्रकाश पार्नु भयो भने उपाध्यक्ष नपना गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव विद्या पराजुलीले गर्नुभएको थियो ।
पुस २३ गतेसम्म सञ्चालन हुने उक्त तालिममा पोखरा महानगरपालिका वडा नं. ७, ८, ९, ११ र १७ अन्तर्गतका विभिन्न आमा समूहबाट ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।