मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

ललितपुरमा छैटौँ छेथर महापूजा सम्पन्न, ३ सय ७० जोडी चरा मुक्त

ललितपुर । बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्वीप केन्द्रको आयोजनामा छ्योठुल दुइछेन (ऋद्धि प्रतिहार्य दिवस) को अवसरमा ललितपुरमा छैटौँ छेथर महापूजा सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका-११, चापागाउँस्थित बज्रबराही मन्दिर परिसरमा धर्मगुरु जेचुन साङ्गे खाण्डो रिन्पोछेको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

बौद्ध परम्पराअनुसार ‘छेथर’ लाई प्राणदान वा जीवनदानका रूपमा लिइन्छ । विभिन्न शास्त्रहरूमा यसको महत्व उल्लेख गरिएको छ ।

कुनै पनि पशुपंक्षीलाई छेथर गरी स्वतन्त्र छाड्दा भिक्षुले शील पालना गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

साथै एक प्राणीलाई जीवनदान दिएमा सात जुनीसम्म दुर्गतिमा पतन हुनबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।

महापूजाका क्रममा लामागुरुद्वारा आयुसूत्र तथा आयुधारणी मन्त्र पाठ गरिनुका साथै ३ सय ७० जोडी चराहरूलाई छेथर गरी आकाशमा मुक्त गरिएको थियो ।

कार्यक्रममार्फत पशुपंक्षीप्रति दया, करुणा र अहिंसाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन् ।

यसै अवसरमा ११३औँ राष्ट्रिय रक्तदाता दिवसको उपलक्ष्यमा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) को आह्वानमा गोदावरी जेसिस र नेपाल रेडक्रस सोसाइटी, चापागाउँ उप-शाखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

“रक्तदान नै जीवनदान हो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा सहभागीहरूले स्वेच्छापूर्वक रक्तदान गरी मानव जीवन बचाउने अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रमको अन्त्यमा केन्द्रका सदस्य तथा सञ्चारकर्मी उपासक कमल योञ्जन तामाङले छेथर तथा रक्तदान कार्यक्रमबाट सङ्कलित रकममध्ये केही अंश क्यान्सर पीडित र एक जना अपाङ्गता भएका व्यक्तिलाई सहयोगस्वरूप प्रदान गरिने जानकारी दिनु भयो ।

कार्यक्रम सफल बनाउन भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । विभिन्न जिल्लाबाट पाल्नुभएका भक्तजनहरूले आर्थिक, नैतिक तथा व्यवस्थापकीय सहयोग प्रदान गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष पाल्साङ नोर्बु बोम्जन लामा परिवारले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका छन् ।

Author

Related News