मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

सीतारामको हरियाली सपना: सवारी चालकको फरक पहिचान !

मधु पन्थी, पोखरा ।

चैत–वैशाखको तातो घाम ! असार–साउनको अविरल वर्षा ! र पुस–माघको कठ्याङ्ग्रिने चिसो ! यस्ता हरेक कठिन परिस्थितिको बेवास्ता गर्दै, बिहानको सूर्योदयसँगै सीताराम दाहाललाई पोखराको सडकछेउ र सार्वजनिक स्थानमा बोटबिरुवा स्याहार्न चटारो हुन्छ । गण्डकी प्रदेशको राजधानी पोखराका मुस्ताङचोकदेखि राष्ट्र बैङ्क चोक, शहीदचोक, बैदाम, केदारेश्वर मन्दिर परिसर, वाईचोक सडक खण्डसम्म उहाँको हातमा कहिले कोदाली त कहिले बिरुवा हुन्छ। बिहान ५ बजेदेखि साढे ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि अन्धकार हुनु अघिसम्म उहाँ बोटबिरुवाको संरक्षण र स्याहारमा समर्पित हुनुहुन्छ ।

पेशाले सरकारी सवारी चालक रहनु भएका दाहालको परिचय समाजसेवा, श्रमदान र वातावरण संरक्षणका अभियन्ताका रूपमा स्थापित भएको छ । वातावरण र हरियालीप्रति उहाँको गहिरो मोह छ। पोखराको हरियाली जोगाउन आफ्नो समय र श्रम अर्पण गर्नु उहाँका लागि बाध्यता होइन, व्यक्तिगत रुचि र सङ्कल्प हो । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–१ मा बुबा जयपति र आमा पवित्रादेवी दाहालको कोखबाट वि.सं. २०३२ मा जन्मनु भएका सीताराम करिब २२ वर्षअघि पोखरा आउनु भएको हो । हाल उहाँ राष्ट्र बैङ्क चोक नजिकैको सरकारी निवासमा परिवारसहित बसोबास गर्नु हुन्छ ।

पहिलो नजरमा उहाँ महानगरपालिकाका कर्मचारीजस्तै लाग्छ । तर, उहाँ सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयमा सवारी चालकको रूपमा कार्यरत हुनुहुन्छ । कार्यालय समय बाहेकको अधिकांश समय उहाँ प्रकृतिसँग बिताउनुहुन्छ । बोटबिरुवा गोडमेल र स्याहारमा सक्रिय हुनुहुन्छ । “अन्य मानिसहरू मर्निङ वाकमा निस्कन्छन्, तर मेरो मर्निङ वाक भनेको श्रमदान र वातावरण संरक्षण हो ।”-दाहाल भन्नुहुन्छ ।

बिसं २०५८ सालदेखि छिटफुट रूपमा बिरुवा रोप्न थाल्नु भएका दाहाल ५-६ वर्षदेखि यो अभियानमा निरन्तर सक्रिय हुनुहुन्छ । अहिलेसम्म पोखराका विभिन्न ठाउँमा उहाँले १ हजारभन्दा बढी बिरुवा रोपिसक्नु भएको छ । राष्ट्र बैङ्क चोक, मुस्ताङचोक, शहीदचोक, ड्यामसाइड क्षेत्र मात्र नभई रामघाटमा समेत उहाँले चाँप र गुलमोहर रोप्नु भएको छ । “अहिले गुलमोहर फुलेर ढकमक्क भएको देख्दा अपार आनन्द आउँछ ।”-उहाँ भन्नुहुन्छ ।

उहाँले हरि, वरी, श्रीखण्ड, कपुर, शियफूल, रक्तचन्दन, सीताअशोक, लप्सी, गुलमोहर, बेलपत्र, पलास, सतोसाल, रामफल, वरपिपल, सिप्लीकानजस्ता धार्मिक र उपयोगी बिरुवासहित जडीबुटी पनि रोप्नु भएको छ । “रोपेर छोडेर मात्र हुँदैन, नियमित गोडमेल र मलजल गर्नुपर्छ ।”-उहाँ भन्नु हुन्छ ।

सीतारामका आमा पवित्रादेवी, श्रीमती पार्वता र छोराछोरी (बीए अध्ययनरत छोरी दिपा र स्नातक पास गरिसकेका छोरा दिपक) यस अभियानमा हउहाँको साथैमा हुनुहुन्छ । “यो पारिवारिक श्रमदान हो। आमाले पानी हाल्ने र गोडमेलमा सघाउनुहुन्छ ।” उहाँ गर्वका साथ भन्नुहुन्छ ।

वातावरण संरक्षण नै मुख्य उद्देश्य

दाहालका अनुसार श्रमदानको मुख्य उद्देश्य वातावरण संरक्षण हो। “धार्मिक बिरुवा रोप्दा धर्म जोगिन्छ । फलफूलका बिरुवा रोप्दा जीवजन्तु र मानिस सबैलाई लाभ हुन्छ। जडीबुटी स्वास्थ्यका लागि उपयोगी हुन्छ ।”-उहाँ भन्नुहुन्छ । उहाँको विश्वास छ-“यो अभियानले जलवायु परिवर्तनबाट उत्पन्न असरलाई केही कम गर्न र पोखराको पर्यटनको आकर्षणलाई बढाउन मद्दत पुर्‍याएको छ।”

शरीरले साथ दिएसम्म प्रकृतिसँग रमाउने र यो अभियानलाई सार्थक बनाउने सङ्कल्प लिएको सीतारामले बताउनु भयो ।

Author

Related News