पोखरा । शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील बहिनी एडुकेयर फाउण्डेशनले तनहुँको पहिलो शाखा कार्यालय तनहुँको भिमाद नगरपालिका–६ मा उद्घाटन गरेको छ । यो फाउण्डेशनको प्रधान कार्यालय कास्कीको पोखरामा रहेको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले शुभारम्भ गर्दै फाउण्डेशनले तीन महिनाको छोटो अवधिमा संस्थाले भिमाद र शुक्लागण्डकी नगरपालिका एवम् म्याग्दे र घिरिङ गाउँपालिकामा कार्य क्षेत्र विस्तार गरेकोमा खुशी व्यक्त गर्नु भयो ।
२०७० सालमा स्थापना भएको फाउण्डेशनले एकल महिला, किशोरी र अभिभावकविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, असमानता न्यूनीकरण र सामाजिक न्यायका लागि काम गर्दै आएको छ ।
तनहुँ जिल्लामा हालसम्म १३ परिवार र १७ विद्यालयका ४८ बालिकालाई शैक्षिक सामग्री, स्वास्थ्य बीमा तथा खाद्य सहयोग गर्दै आएको कार्यकारी निर्देशक सुरेन्द्र परियारले जानकारी दिनुभयो ।
कार्यक्रममा भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, जिसस तनहुँका सदस्य पानकुमारी खाँण, भिमाद नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ३ का अध्यक्ष पदमराज सेन, घिरिङ गाउँपालिका वडा नं ३ का वडाध्यक्ष टहलसिं थापा, गैरसरकारी संस्था महासङ्घ नेपाल तनहुँका कोषाध्यक्ष सरस्वती सिग्देल, रूम टु रिड तनहुँका बरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक खडकबहादुर कुँवर, बहिनी एडुकेयर फाउण्डेशनका सचिव तथा अधिवक्ता सुष्मा ओझा र सदस्य रिता गुरूङलगायतले यस्ता अभियानले समाज रूपान्तरणमा ठूलो योगदान गर्ने उल्लेख गर्दै निरन्तरता दिन आग्रह गर्नु भयो ।
कार्यक्रम उपाध्यक्ष अभिजित श्रेष्ठको अध्यक्षतामा, सामाजिक परिचालिका सञ्जु शाहीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब ६० जनाको सहभागिता रहेको थियो ।