सिन्धुली । भोटेकोशीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुली तथा मातहतका समिति, उपसमिति, पालिका र उपशाखाहरूले सङ्कलन गरेको ४ लाख ५३ हजार २ सय २९ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
रेडक्रसले सङ्कलन गरेको उक्त रकम २०८३ असोज १ गते सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई कोषमा रकम जम्मा गरिएको बैङ्क भौचर बुझाएको हो।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालमा ठूलो विपद् आउँदा जनधनको क्षति भएका क्षेत्रमा राहत तथा उद्धारका क्रममा नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवामा अग्रपंक्तिमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले विपद् व्यवस्थापन तथा मानवीय सेवामा सिन्धुली रेडक्रसले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति अशोक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न उपशाखा, समूह, कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागितामा उक्त रकम सङ्कलन गरिएको हो ।