रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुली अस्पतालमा उपचारका लागि आउने विपन्न नागरिकलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित ‘विपन्न नागरिक उपचार कोष’ स्थापना गर्न सिन्धुली महोत्सव २०८२ आयोजना गरिने भएको छ ।
महोत्सव २०८२ माघ ९ गतेदेखि माघ १९ गतेसम्म सिन्धुलीमाढीको खुल्लामञ्चमा सञ्चालन हुनेछ ।
महोत्सवबाट सङ्कलित टिकट रकम तथा विभिन्न सहयोगदाताबाट प्राप्त रकम उद्योग वाणिज्य सङ्घ सिन्धुलीमा रहने गरी उपचार कोष स्थापना गरिने भएको हो ।
सिन्धुली उद्योग वाणिज्य सङ्घले २०८२ पुस २३ गते आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराइएको छ । सङ्घका अनुसार कोष सञ्चालनका लागि आवश्यक कार्यविधि समेत निर्माण भइसकेको छ ।
उद्योग वाणिज्य सङ्घले प्रारम्भिक चरणमा ५० लाख रुपियाँसम्मको उपचार कोष स्थापना गर्ने लक्ष्य लिएको छ ।
वडाबाट सिफारिस भई सिन्धुली अस्पतालमा उपचारका लागि आएका विपन्न नागरिकलाई अस्पतालको सिफारिसका आधारमा प्रति बिरामी ५ हजार रुपियाँसम्म सहयोग उपलब्ध गराइने सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
‘पहिचान, समुन्नति र समृद्ध सिन्धुली हाम्रो पहिचान’ भन्ने नाराका साथ आयोजना हुने सिन्धुली महोत्सव २०८२ लाई करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
सिन्धुली उद्योग वाणिज्य सङ्घ, सिन्धुली र कमलामाई नगरपालिका कार्यालयको संयुक्त आयोजनामा हुने महोत्सवबाट २७ लाख रुपियाँ नाफा हुने अनुमान गरिएको छ ।
महोत्सवबाट १ करोड १९ लाख ४५ हजार रुपियाँ आम्दानी हुने र ९१ लाख ५५ हजार रुपियाँ खर्च हुने सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष श्रेष्ठले महोत्सवमा स्थानीय कला, संस्कृति तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने बताउनु भयो ।
लगानीमैत्री वातावरण निर्माण, औद्योगिक क्षेत्रको पहिचान, कृषि व्यवसायमा आधुनिक प्रविधिको प्रयोग तथा पर्यटकीय र धार्मिक स्थलहरूको प्रचारप्रसारका लागि महोत्सव महत्वपूर्ण हुने उनले उल्लेख गर्नु भयो ।