रुद्रबहादुर खड्का, सिन्धुली ।
“सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र सम्वृद्ध सिन्धुली हाम्रो अभियान” भन्ने मूल नाराका साथ सिन्धुली महोत्सव २०८२ माघ ९ गतेबाट सुरु भएको छ ।
जिल्लाको सदरमुकामस्थित लोकतान्त्रिक चौरमा सुरु भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घ सबै पक्षसँग सहकार्य र समन्वय गर्न तयार रहेको बताउनु भयो ।
मेला–महोत्सव आयोजना गर्ने जिम्मेवारी उद्योग वाणिज्य सङ्घको नै भएको उल्लेख गर्दै उहाँले अन्य क्लब तथा संस्थाले यस्ता कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने धारणा राख्नु भयो।
यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताउँदै उहाँले महासङ्घ उद्योग तथा व्यवसाय प्रवर्धनमा सधैं क्रियाशील रहेको जिकिर गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सिन्धुली महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
स्थानीय उत्पादनको प्रदर्शनी, नयाँ व्यापारिक सम्बन्ध विस्तार, पर्यटन प्रवर्धन तथा युवा उद्यमीलाई प्रोत्साहन गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले महोत्सवमा स्थानीय रूपमा उत्पादित कृषि सामग्री, फलफूल तथा तरकारीको प्रदर्शन गरिएको जानकारी दिनु भयो । यसले किसानको बजार पहुँच बढाउने र आयआर्जनमा सहयोग पुग्ने उहाँले बताउनु भयो ।
सिन्धुलीको पहिचान बनेका फलफूल तथा तरकारी वर्षभरि बजारमा उपलब्ध गराउन जिल्लामा शीतभण्डार आवश्यक रहेको उल्लेख गर्दै उहाँले शीतभण्डार निर्माणका लागि नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घसँग अनुरोध गर्नु भयो ।
सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्जुन श्रेष्ठले महोत्सव व्यापार र मनोरञ्जनमा मात्र सीमित नरही सामाजिक उत्तरदायित्वलाई समेत आत्मसाथ गरिएको बताउनु भयो ।
सङ्घले यसअघि दमकल खरिदजस्ता सामाजिक कार्य गरिसकेको उल्लेख गर्दै उहाँले यस वर्षको महोत्सवबाट बचत हुने रकम विपन्न नागरिक उपचार कोषमा सहयोग गरिने जानकारी दिनु भयो । साथै उक्त रकम संस्थागत विकास र सदस्यहरूको हितमा समेत उपयोग गरिने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रयास कार्की, बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्ष सुर कृष्ण, सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शतिचन्द्र ढकाल, हेटौंडा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद, नेपाल पत्रकार महासङ्घ सिन्धुलीका सचिव नविनबाबु अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
जिल्लामा व्यवसायिक प्रवर्धन, नयाँ लगानीका सम्भावनाको पहिचान, लगानीमैत्री वातावरण सिर्जना तथा धार्मिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेश शुल्क सामान्यका लागि ६० रुपियाँ, विद्यार्थी तथा एकल महिलाका लागि ४० रुपियाँ तोकिएको छ ।
पूर्ण अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ ।
सिन्धुली उद्योग वाणिज्य सङ्घ र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव २०८२ माघ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन सङ्घका महासचिव वासु प्रसाद भेट्वालले गर्नुभएको थियो ।