सिन्धुली । भोटेकोशी तथा त्रिशुली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुली जिल्लाका ३९ ओटा सामुदायिक वन उपभोक्ता समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ९ लाख २९ हजार ३ सय ५६ सहयोग गरेका छन् ।
जिल्ला सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) सिन्धुलीको समन्वयमा सङ्कलित उक्त रकमको बैङ्क भौचर महासङ्घका अध्यक्ष हितलाल श्रेष्ठले २०८३ भदौ ३० गते प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई प्रदान गर्नुभएको हो ।
कार्यक्रममा डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख रामकुमार भण्डारीको समेत उपस्थिति रहेको थियो ।
२०८३ भदौ १० गते आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहबाट रकम सङ्कलन गरिएको महासंघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
महासङ्घले राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा रकम जम्मा गरी बैङ्क भौचरसहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको जनाएको छ ।
डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिण-कपिलाकोटमा दर्ता भई फेकोफनमा आबद्ध ३९ ओटा सामुदायिक वन उपभोक्ता समूहले अभियानमा सहभागिता जनाएका हुन् ।
प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापनमा सक्रिय सामुदायिक वन उपभोक्ता समूहहरूले प्राकृतिक विपद्को घडीमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राहत कोषमा सहयोग गरेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो ।