मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

ललितपुरका ७१ ओटै वडामै एकसाथ आर्थिक गणना

ललितपुर । दोश्रो राष्ट्रिय आर्थिक गणना २०८३ वैशाख २ गतेबाट जिल्लाका ६ स्थानीय तहका ७१ ओटै वडामा एकसाथ सुरु भएको छ ।

राष्ट्रिय अभियानका रुपमा सरकारले सुरु गरेको दोश्रो राष्ट्रिय आर्थिक गणना अन्तर्गत देशव्यापी सञ्चालन हुने अभियान ललितपुरमा आजबाट २०८३ असार ७ गतेसम्म सञ्चालन हुने आर्थिक गणना तथ्याङ्क कार्यालय ललितपुरका प्रमुख हरिओम पोखरेलले बताउनुभयो ।

वडाभित्र रहेका विभिन्न आर्थिक केन्द्रहरुमा पुगि इसेन्सस र भौतिक विधिमार्फत आर्थिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रको वास्तविक आर्थिक अवस्था पत्ता लगाउने अभियान भएकोले सबैले सहयोग गर्न ललितपुर कार्यालयका प्रमुख पोखरेलले आग्रह गर्नुभयो ।

आर्थिक गणनाका गणक तथा सुपरिवेक्षकलाई दिइएको पाँच दिने तालिम समापन गर्दै सम्पूर्ण विकास योजनाका लागि आधारभूत अवस्थाको पहिचानका लागि आवश्यक आर्थिक तथ्याङ्क सङ्कलनको अभियानमा स्थानीय तह, उद्योग वाणिज्य सङ्घ तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको पनि पोखरेलले बताउनुभयो ।

ललितपुरमा ९८ जना गणक र १३ जना सुपरिवेक्षक गरी १ सय ११ जना फिल्डमा परिचालन हुने पोखरेलले बताउनुभयो ।

जिल्लाका ६ स्थानीय तहका सम्पूर्ण उद्योग व्यवसाय तथा व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क ल्याउन रियल टाइम डाटा सिष्टम प्रयोग गरी फिल्डको वास्तविक तथ्याङ्क प्राप्त हुने विश्वास पोखरेलले व्यक्त गर्नुभएको छ ।

व्यवसायको क्षेत्रगत र विषयगत अवस्था, तिनमा भएको पुँजी लगानी, ऋणको अवस्था, एनएसआइसी कोड अनुसारका २१ मध्ये १८ क्षेत्रको तथ्याङ्क सङ्कलन हुने पोखरेलले बताउनुभयो ।

पहिलो आर्थिक गणना २०७५ मा भएको र हरेक ५ वर्षमा अद्यावधिक गर्ने भनिए पनि २०८० मा हुन नसकेको र यस आर्थिक गणनाबाट सङ्कलन भएको तथ्याङ्क डिजिटल रुपमा सङ्कलन हुने र इसेन्ससलाई अटो अपडेट हुने गरी व्यवस्थापन मिलाउन समेत सकिने गरी तयार पार्ने तयारी तथ्याङ्क कार्यालयले गरेको पनि पोखरेलले बताउनुभयो ।

आर्थिक गणनाका लागि स्थानीय तह, वडा कार्यालय, तथा अन्य सरकारी निकाय तथा नागरिक समाजका विभिन्न निकायसँग समन्वय भएको पनि राष्ट्रिय आर्थिक गणना ललितपुर कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।

इसेन्ससको लागि २०८३ जेठ मसान्तसम्म र छुटेकालाई २०८३ असार ७ गतेसम्म भौतिक रुपमा समेटेर गणना गरिने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

उद्योग व्यवसायको चापका आधारमा एउटै वडालाई एक भन्दा बढी गणना क्षेत्र बनाएर गणना गरिएको र ग्रामीण भेकका गाउँपालिका क्षेत्रमा एक वडामा एक गणक र गणना क्षेत्र बनाएर कार्यविभाजन गरिएको राष्ट्रिय आर्थिक गणना ललितपुर कार्यालयका प्रमुख पोखरेलले बताउनुभयो ।

उहाँले गणक तथा सुपरिवेक्षकहरुलाई रियल टाइम जिआइएस सुपरिवेक्षण सिष्टम प्रयोग गरिएको बताउनुभयो ।

Author

Related News