मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सरल र सहज सेवा प्रवाह प्रमुख चुनौती: मुख्यमन्त्री पाण्डे

३० कार्यदिने सेवाकालीन तालिमबाट ६० जना कर्मचारी दीक्षित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कर्मचारीको व्यवहार र सेवा प्रवाहले नै संघीय शासन प्रणालीको प्रभावकारिता निर्धारण गर्ने बताउनुभएको छ ।

उहाँले नागरिकले कर्मचारीकै व्यवहारबाट सरकारलाई चिन्ने भएकाले सरल, सहज र नागरिकमैत्री सेवा प्रवाह आजको प्रमुख चुनौती रहेको उल्लेख गर्नु भयो ।

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराद्वारा सहायकस्तर (पाँचौँ/चौथो) सुब्बा तथा खरिदारका लागि सञ्चालित ३० कार्यदिने सेवाकालीन तालिमको २०८२ पुस ६ गते समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीको कार्यसम्पादनमै प्रदेश सरकारको छवि प्रतिबिम्बित हुने धारणा राख्नु भयो ।

उहाँले कर्मचारीको व्यवहार र कामबाट नागरिकले सरकार सुन्ने, देख्ने र महसुस गर्ने बताउनु भयो ।

“व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” भन्ने नाराका साथ सञ्चालन गरिएको उक्त तालिममा सङ्घ, प्रदेश तथा स्थानीय तहमा कार्यरत ६० जना कर्मचारीको सहभागिता रहेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव ऋषिराज आचार्यले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिँदै कानुनसम्मत कार्यमा अनावश्यक ढिलासुस्ती हुन नहुने बताउनु भयो ।

कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले तालिमबाट आर्जित ज्ञान र सीपले कर्मचारीको दैनिक कार्यसम्पादन अझ छिटो, प्रभावकारी र गुणस्तरीय हुने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले संस्थालाई आत्मनिर्भर बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सहजीकरण आवश्यक रहेको औँल्याउनु भयो ।

उहाँले क्षमता विकास, नेतृत्व विकास, सुशासन र जवाफदेहिताका विषयमा सूचना प्रविधिमैत्री पाठ्यक्रम परिमार्जन गरिँदै आएको जानकारी दिनु भयो ।

समापन समारोहमा प्रशिक्षार्थी मोनिका पौडेल र गोविन्द रिजालले तालिमबाट प्राप्त अनुभव तथा सिकाइ साझा गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा प्रतिष्ठानमा कार्यरत उपसचिव प्रभाकर घिमिरे र प्रशासकीय अधिकृत प्रज्ज्वल आचार्यलाई विदाइ गरिएको थियो ।

Author

Related News