पोखरा । सामाजिक क्षेत्रमा क्रियाशील नौलो घुम्ती नेपालको रजत जयन्ती महोत्सव, २५औँ वार्षिक साधारणसभा, १३औँ अधिवेशन, नवनिर्मित भवन उद्घाटन तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले शनिबार पोखरा महानगरपालिका-१७, सीतापाइलास्थित नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले सरकारले गर्नुपर्ने कतिपय काम नौलो घुम्ती नेपालले गरिरहेको उल्लेख गर्दै संस्थाले निर्माण गरेको भवन सामूहिक एकता र सहकार्यको परिणाम भएको बताउनुभयो ।
उहाँले भवनको संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपचार तथा पुनःस्थापनापछि समाजमा स्थापित हुन सङ्घर्ष गरिरहेका व्यक्तिहरूका लागि मनोसामाजिक परामर्श, रोजगारी र सामाजिक स्वीकार्यतासम्बन्धी नीतिगत व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
संस्थासँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले भवनको पछाडिपट्टि पर्खाल निर्माण तथा धारापानीस्थित पुनःस्थापना केन्द्रसम्मको सडक पहुँच सुधार गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नौलो घुम्ती नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले संस्थाले २५ वर्षको यात्रामा लागूपदार्थ प्रयोगकर्ताको उपचार तथा पुनःस्थापना, एचआईभी रोकथाम, शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा योगदान पुर्याउँदै आएको बताउनुभयो ।
सन् १९९५ मा परियोजनाका रूपमा सुरु भएको संस्था सन् २००२ मा गैरसरकारी संस्थाका रूपमा स्थापित भएको हो । संस्थाका अनुसार हालसम्म ३ हजार ९ सय २१ जनाले आवासीय उपचार सेवा प्राप्त गरेका छन् भने चालु आर्थिक वर्षमा मात्रै २ सय २२ जनाले सेवा लिएका छन् ।
यस वर्ष एचआईभीको जोखिममा रहेका ५ सय ६३ जनाको परीक्षण गरिएको, ५३ जना नयाँ सङ्क्रमितलाई एआरटी सेवाका लागि सिफारिस गरिएको र ४ सय १४ जनालाई समुदायस्तरमा हेरचाह तथा परामर्श सेवा प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षातर्फ कास्कीका ४२ सामुदायिक विद्यालयका ८ सय २३ विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरिएको छ भने एसईई उत्तीर्ण १ सय २८ विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
कृषकलाई तालिम, बीउबिजन तथा कृषि सामग्री सहयोगमार्फत जीविकोपार्जनमा सघाइएको संस्थाले जनाएको छ ।
संस्थाका महासचिव कमलप्रसाद अर्यालले ४ सय ९५ घरपरिवारलाई व्यावसायिक उद्यममार्फत जीविकोपार्जनमा सहयोग गरिएको जानकारी दिनुभयो । यसैगरी, कास्कीमा ६९ र मनाङमा आठ गरी ७७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।
संस्थाले हालै भोटेकोशी बाढीबाट प्रभावित रसुवाका ३० घरपरिवारलाई ४ लाख २४ हजार ४ सय ७० रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।
कोषाध्यक्ष कमला पौडेललेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा संस्थाको कुल आम्दानी ५ करोड ४५ लाख ३ हजार ३ सय १३ रुपियाँ र खर्च ५ करोड २८ लाख ६१ हजार १ सय ४८ रुपियाँ रहेको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि ५ करोड ३६ लाख ९१ हजार ८ सय ५ रुपियाँ आम्दानी र ४ करोड ९६ लाख ८४ हजार ३ सय ७० रुपियाँ खर्च हुने अनुमान गरिएको छ।
संस्थाले दातृ निकायको सहयोग तथा संस्थागत स्रोतबाट सञ्चालित कार्यक्रमको वित्तीय कारोबारलाई पारदर्शी र जबाफदेही बनाउने प्रतिबद्धता जनाएको छ ।
संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले संस्थाको सुरुवाती दिनमा लागूपदार्थ प्रयोगकर्ताप्रति समाजको नकारात्मक दृष्टिकोणका कारण सेवा सञ्चालन गर्न कठिन भएको स्मरण गर्नुभयो ।
समाजबाट उपेक्षित हुने र भाडामा कोठासमेत नपाइने अवस्था रहेको उल्लेख गर्दै उहाँले सानो कोठाबाट सेवा सुरु गरिएको बताउनुभयो ।
पूर्वअध्यक्ष मेयरमान श्रेष्ठले लागूपदार्थ दुर्व्यसनले परिवार र समाजमा गम्भीर समस्या निम्त्याउने उल्लेख गर्दै संस्थाले उपचार तथा पुनःस्थापनामार्फत हजारौँ व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो ।
उपचारपछि पुनःस्थापित भएका व्यक्तिहरू संस्थामै कर्मचारीका रूपमा आबद्ध भएर अरूलाई सकारात्मक जीवनतर्फ प्रेरित गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा संस्थाका पूर्वअध्यक्ष पदमराज पहारीले पोखरामा लागूपदार्थ दुर्व्यसन र एचआईभी सङ्क्रमणले युवाहरूको जीवनमा गम्भीर असर पारेको विगत स्मरण गर्नुभयो ।
यही सामाजिक समस्याले आफूलाई संस्थाको सेवामा निरन्तर लाग्न प्रेरित गरेको बताउँदै उहाँले आफ्नो कार्यकालमा भवन निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा पुनःस्थापित अमृत खड्का, नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारी, राष्ट्रिय मानवअधिकार आयोग पोखराका अधिकृत टङ्कप्रसाद खनाल र शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सामाजिक परीक्षण विज्ञ एवम् सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका गतिविधि, उपलब्धि र सिकाइसम्बन्धी सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
भवन निर्माणमा योगदान पुर्याउने जग्गादाता, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकार, सहयोगी तथा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पूर्वअध्यक्षहरू इन्दिरा बराल, योगराज पौडेल, खड्कबहादुर रानाभाट, पदमराज पहारी र मेयरमान श्रेष्ठ, निवर्तमान अध्यक्ष बद्रिविनोद खनाल, भवन निर्माण समिति संयोजक रमेशबहादुर भट्टराई, समाजसेवी कृष्णबहादुर गुरुङ तथा सल्लाहकार दिलबहादुर गुरुङलगायत रहनुभएको छ ।
नौलो घुम्ती नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष मङ्गलबहादुर नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव कमलप्रसाद अर्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक तथा नृत्य प्रस्तुति पनि गरिएको थियो ।