काठमाडौँ । चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ ।
चन्द्रागिरी नगरपालिका-७, थानकोटस्थित मुख्य कार्यालयमा आयोजित विशेष समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष शिवशङ्कर मानन्धरले संस्थाको २५ वर्षे यात्रालाई सदस्यहरूको विश्वास, सहयोग र संस्थागत मेहनतको प्रतिफलको रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहका प्रमुख अतिथि समाजसेवी तथा शिक्षाप्रेमी सुरेन्द्र बहादुर खड्काले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
रजत जयन्ती उपसमिति संयोजक योगेन्द्रकुमार कुँवरले संस्थाको २५ वर्षको यात्रा, चुनौती र उपलब्धिहरूको समीक्षा प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानुप्रकाश ढकालले संस्थागत मूल्य र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
संस्थापक अध्यक्ष रुद्रप्रसाद शर्माले संस्था स्थापना गर्दाको उद्धेश्य अझै सान्दर्भिक रहेको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो ।
प्रा.डा. रामशरण पाठकले विगतको अनुभवबाट सिक्दै आगामी दिनमा थप जिम्मेवार र सतर्क भएर अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले संस्थाका २५ प्रतिबद्धता सार्वजनिक गर्नुभयो ।
ती प्रतिबद्धतामा सदस्यको विश्वास कायम राख्ने, महिला तथा युवा सशक्तिकरण, डिजिटल सेवा विस्तार, पारदर्शिता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वजस्ता विषय समेटिएका छन् ।
संस्थाले रजत जयन्ती वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ, जसमा “विश्वासको सहयात्रा” अभियान तथा उद्यमशीलता प्रवर्नधका लागि सहकारी मेला प्रमुख रहेका छन् । रजत जयन्तीको पूर्वसन्ध्यामा संस्थाका मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा दीपावली गरिएको थियो ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग, चन्द्रागिरी साकोस र लायन्स क्लब अफ चन्द्रागिरीको संयुक्त आयोजनामा “रक्तदान महादान” नारासहित आयोजित रक्तदान कार्यक्रममा १ सय ३ जनाले सहभागिता जनाएका थिए ।