मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गण्डकीमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगतिः स्वास्थ्यमन्त्री पाठक

पोखरा । गण्डकी प्रदेशको आठौं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रगति भएको बताउनु भएको छ ।

यस अवधिमा स्वास्थ्य मन्त्रालयले अस्पताल स्तरोन्नति, सेवा विस्तार, डिजिटल स्वास्थ्य प्रणाली र निःशुल्क उपचार कार्यक्रममार्फत उल्लेखनीय फड्को मारेको छ ।

मन्त्रालयका अनुसार प्रदेशभर १६ ओटा अस्पतालको शैय्या सङ्ख्या ३ सयबाट बढाएर ८ सय पुर्‍याइएको छ ।

मन्त्री पाठकका अनुसार धौलागिरी र मध्यविन्दु प्रादेशिक अस्पताललाई १ सय शैय्यामा स्तरोन्नति गरिएको छ भने गोरखा, तनहुँ, पर्वत, स्याङ्जा, लमजुङलगायतका अस्पतालहरू ५० शैय्यामा विस्तार भएका छन् । साथै मनाङ र मुस्ताङका अस्पताल २५ शैय्यामा स्तरोन्नति गरिएको छ ।

स्वास्थ्य सेवा जनशक्तिमा समेत व्यापक सुधार गर्दै ११ अस्पतालमा विशेषज्ञ चिकित्सकसहित दरबन्दी थप गरिएको छ ।

अस्पताल व्यवस्थापन समिति गठन, क्यान्सर उपचार सहयोग कार्यविधि, आयुर्वेद अस्पताल व्यवस्थापन आदेशजस्ता महत्वपूर्ण कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

प्रदेशभर आश्रममा बसोबास गर्ने असहाय नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण, नवजात शिशु स्क्रिनिङ कार्यक्रम, बालबालिकामा मुटु र बाथ रोग परीक्षण, ट्रमा केयर युनिट स्थापना, अपाङ्गता उपचार केन्द्र सञ्चालन जस्ता सामाजिक प्रभाव पार्ने कार्यक्रम सुरु गरिएको छ ।

क्यान्सर पीडितलाई सङ्घीय सहयोगबाहेक थप एक लाख रुपियाँ उपचार सहायता उपलब्ध गराउँदै देशका ६ ठूला अस्पतालसँग सम्झौता गरिएको छ ।

जोखिममा परेका गर्भवती महिला र नवजात शिशुका लागि निःशुल्क हवाई उद्धार सेवा सञ्चालन भई हालसम्म ७० जनाको ज्यान जोगाइएको मन्त्रालयले जनाएको छ ।

डिजिटल स्वास्थ्यतर्फ ऐतिहासिक कदम चाल्दै प्रदेशका अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली, प्रयोगशाला सूचना प्रणाली र e-HMIS लागू गरिएको छ । हाल दैनिक करिब ७ हजार बिरामीको विवरण रियल टाइममा सङ्कलन भइरहेको छ ।

गत आर्थिक वर्षमा मात्रै २३ हजारभन्दा बढी नागरिकमा एआई प्रविधिबाट क्षयरोग स्क्रिनिङ गरी ३ सय ४६ नयाँ बिरामी पहिचान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानमा ९७ प्रतिशत किशोरीले खोप लगाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेश स्थापना दिवसको अवसरमा स्वास्थ्य सेवा अब पहुँचयोग्य, गुणस्तरीय र प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ स्वास्थ्य प्रणाली निर्माणमा मन्त्रालय प्रतिबद्ध रहने बताउनु भयो ।

Author

Related News