ललितपुर । धापाखेलस्थित नागदहमा आयोजित नागपञ्चमी मेलाको भीडलाई राजनीतिक अवसरमा बदल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
पार्टीले जिल्लाभर ७० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको दावी गरेको छ। महालक्ष्मी नगरपालिकाबाट मात्र ११ हजार ८ सय ६३ हस्ताक्षर सङ्कलन गरिएको र अन्य स्थानहरूमा पनि अभियान तीव्र गतिमा जारी रहेको जिल्ला अध्यक्ष बुद्धरत्न महर्जनले बताउनु भयो ।
उहाँले सांस्कृतिक र धार्मिक कार्यक्रमलाई असर पार्न नभइ भीडभाड हुने ठाउँहरू लक्षित गर्दै हस्ताक्षर सङ्कलन कार्यक्रम सञ्चालन गरिँदै आएकाले नागदहमा पनि त्यही भएको बताउनु भयो ।
रास्वपाले धार्मिक आस्थाले नागदह पुगेका भक्तजनलाई हस्ताक्षर गराउँदै राजनीतिक एजेन्डा अघि सारेकोमा आलोचना भइरहेको छ।
यो अभियानसँगै धेरैले “अदालतप्रति अविश्वास, भिडप्रति भरोसा त होइन?” भन्ने प्रश्न उठाइरहेका छन् ।
भीडभाड भएको मौका छोपेको देख्दा आरोप सही जस्तै लागेको मेलामा आएका एक सहभागीले मानव आवाजलाई बताउनु भयो ।
सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उच्च अदालत तुलसीपुर (बुटवल इजलास) को आदेशअनुसार रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहनु भएका रास्वपा अध्यक्ष रवि लामिछाने, सर्वोच्च अदालतबाट समेत थुनामै राख्ने आदेश सदर भएपछि न्यायालयमाथि आक्रामक बन्नु भएको छ ।
थुनामै रहँदा लामिछानेले जारी गर्नु भएको अपिलमार्फत ‘क्युआर कोड’ राखेर आर्थिक सहयोग माग्ने र हस्ताक्षर अभियान चलाउने घोषणा गर्नु भएको थियो ।
यसै अनुसार रास्वपाका कार्यकर्ता र समर्थकले अहिले देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्दै न्यायालयविरुद्ध असन्तुष्टि प्रकट गरिरहेका छन्।
न्यायिक प्रक्रिया जारी रहँदा यस्तो अभियानले अदालतको स्वतन्त्रतामाथि आघात पुर्याउने भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले यसलाई गम्भीर कदमको रूपमा लिनु पर्ने बताउनु भएको छ ।
अर्यालको सार्वजनिक अभिव्यक्तमा भनिएको छ-“यो एकदमै गलत भइरहेको छ। अदालतमा मुद्दा चल्दा त्यसको न्यायिक निरूपण नभएसम्म पर्खिनुपर्ने हुन्छ । तर, यसरी हस्ताक्षर अभियान चलाउँदै अदालतलाई नै प्रभावित पार्ने प्रयासले प्रकारान्तरले रास्वपालाई नै नोक्सान पुर्याउनेछ।”
रास्वपाको यो हस्ताक्षर अभियानले राजनीतिक समर्थन बटुल्ने वा न्यायिक प्रक्रियामा दबाब सिर्जना गर्ने कस्तो असर पार्छ भन्ने प्रश्नले अहिले चर्चा पाएको छ।