पोखरा । पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स प्रा.लि.ले पोखरा-काठमाडौँ रुटमा अत्याधुनिक सुविधासहितको बस सेवा सञ्चालनमा ल्याउने भएको छ ।
पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रा.लि.अन्तर्गत सञ्चालित ट्राभल्सले २०५५ सालदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
‘नयाँ यात्राको शुभारम्भसँगै सुरक्षित, सहज एवम् उत्कृष्ट यात्रा’ र ‘मीठो बोली, नम्र व्यवहार, यात्रुलाई गन्तव्यसम्म पुर्याउने हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राभल्सले २०८३ भदौ ३ गतेदेखि पोखरा-काठमाडौँ रुटमा दिवा तथा रात्री सेवा सञ्चालन गर्ने जानकारी दिएको हो ।
२०८३ साउन ३० गते पोखरामा आयोजित कार्यक्रममा अत्याधुनिक बस सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले रिबन काटेर सेवाको उद्घाटन गर्नुभयो ।
उहाँले पर्यटकीय तथा विविध संस्कृतिको राजधानी पोखराबाट काठमाडौँका लागि सुरु गरिएको यो सेवा नेपालमा मात्र नभई एसियाकै उत्कृष्ट पर्यटकीय यातायात सेवामध्ये पर्ने बताउनुभयो ।
अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै महासङ्घले जीपीएस प्रणाली, क्यासलेस भुक्तानी र अनलाइन टिकटिङलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले प्रविधिको प्रयोगसम्बन्धी स्पष्ट कार्यविधि बनाउन सरकारसँग माग गरिएको र यस विषयमा यातायात व्यवस्था विभागसँग छलफल भइरहेको जानकारी दिनुभयो । यात्रुले घरमै बसेर टिकट काट्न सक्ने व्यवस्था आवश्यक रहेको उहाँको भनाइ थियो ।
शुभ अधिकारी ट्राभल्सका अध्यक्ष टिकाराम अधिकारीका अनुसार पोखरा महानगरपालिका-२५ हेम्जाको बुद्धचोकबाट बिहान सवा ६ बजे बस छुट्नेछ ।
जिरोकिलोमिटर र सिर्जनाचोक हुँदै पर्यटक बसपार्कबाट बिहान ७ बजे काठमाडौँका लागि सेवा सञ्चालन हुनेछ । काठमाडौँको साँखुबाट पनि बिहान ७ बजे पोखरातर्फ बस छुट्ने व्यवस्था गरिएको छ ।
पोखराबाट काठमाडौँ जाने बसहरू गोङ्गबु, चाबहिल, बौद्ध, जोरपाटी, नारायणटार हुँदै साँखुसम्म सञ्चालन हुनेछन् ।
ट्राभल्सले पहिलो चरणमा चार ओटा अत्याधुनिक सुविधासम्पन्न बस सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

अध्यक्ष अधिकारीका अनुसार प्रत्येक बसको लागत करिब १ करोड ६० लाख रुपियाँ रहेको छ । उहाँले यात्रुलाई प्रतिबद्धता गरिएअनुसारको सुविधा सेवा सुरु भएपछि प्रत्यक्ष अनुभव गर्न पाउने दाबी गर्नुभयो ।
पोखरा-काठमाडौँ यात्राका लागि सामान्य सिटको भाडा १ हजार ७ सय रुपियाँ र भीआईपी स्लिपर बेडको भाडा २ हजार रुपियाँ तोकिएको सञ्चालक सागर अधिकारीले जानकारी दिनुभयो । भाडामा पानी, चिया, कफी र ब्रेकफास्टसमेत समावेश गरिएको उहाँले बताउनुभयो ।
बसमा पूर्ण वातानुकूलित प्रणाली, सहज यात्राका लागि अल-ह्विल सस्पेन्सन, आरामदायी सिट तथा बसभित्रै वासरुमको सुविधा रहेको कम्पनीले जनाएको छ ।
बसका चालकलाई ‘पाइलट’ र सहचालकलाई ‘एयर होस्टेस’को पोसाकमा परिचालन गरिने भएको छ । यसलाई यातायात क्षेत्रमा नयाँ संस्कारको सुरुवातका रूपमा लिँदै कार्यक्रममा कर्मचारीलाई पोसाकसँगै यात्रुसँगको व्यवहारमा समेत उच्च व्यावसायिकता र विनम्रता कायम गर्न आग्रह गरिएको थियो ।
कार्यक्रममा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एनबहादुर शाही, कम्पनीका प्रमुख सल्लाहकार योगेन्द्रबहादुर केसी, पोखरा महानगरपालिका-५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, राजमार्ग ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द काफ्ले, पोखरा होटल सङ्घ नेपालका अध्यक्ष लक्ष्मण सुवेदी तथा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले यातायात व्यवसायका चुनौती, व्यवसायीको हकहित, यात्रुमैत्री सेवा र यात्रुसँगको व्यवहारबारे धारणा राख्नुभएको थियो ।
शुभ अधिकारी ट्राभल्स प्रा.लि.का अध्यक्ष टिकाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्ञानबहादुर केसीले गर्नुभएको थियो ।