पोखरा । पोखरा महानगरपालिका-५ मा रहेको सन्तानेश्वर मन्दिरमा २०८३ भदौ १७ गतेदेखि भदौ २४ गतेसम्म श्रीमद्भागवत महापुराण आयोजना हुने भएको छ ।
सन्तानेश्वर शिव मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व संरक्षण, संवर्द्धन र भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले शिवालय मन्दिर प्राङ्गणमा महापुराण आयोजना गर्न लागिएको हो ।
महापुराणलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले २०८३ साउन २३ गते आयोजना गरिएको वडा स्तरीय बृहत् आम भेलाले महापुराण सफल बनाउन सामूहिक प्रतिबद्धता जनाएको छ ।
भेलामा पोखरा महानगरपालिका-५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल, कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा तथा वडा सदस्यहरू कल्पना भुवाजी र गोविन्द पराजुलीलगायतको सहभागिता थियो ।
भेलामा सहभागीहरूले महापुराणलाई वडा नं. ५ को साझा कार्यक्रमका रूपमा अघि बढाउने र यस धार्मिक तथा सामाजिक अभियानमा तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा महापुराणको तयारी, उद्देश्य तथा आवश्यक व्यवस्थापनबारे जानकारी दिँदै समितिका सचिव लक्ष्मणप्रसाद कोइरालाले हालसम्म संरक्षक परिवार, व्यवस्थापन समितिका सदस्य तथा विभिन्न सहयोगीबाट ७० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।
त्यस्तै, सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले मन्दिरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वबारे प्रकाश पारे ।
अर्थ समिति संयोजक पुरुषोत्तम पराजुलीले महापुराणलाई सम्पूर्ण वडावासीको साझा कार्यक्रमका रूपमा सफल बनाउन सबैको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताए ।
प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार सन्तानेश्वर शिव मन्दिरको पुनर्निर्माण कार्यसमेत सुरु भइसकेको छ ।
पुनर्निर्माणको पहिलो चरणको काम असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
महापुराणमा कथा वाचन पण्डित दीपकप्रसाद पौडेलले गर्ने आयोजकले जनाएको छ । महापुराणलाई सफल बनाउन वडा नं. ५ का सम्पूर्ण वडावासी, आमा समूह, टोल विकास संस्था, युवा, ज्येष्ठ नागरिक, सामाजिक सङ्घसंस्था तथा धर्मप्रेमी महानुभावहरूलाई आयोजक समितिले सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ ।
प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलाको संयोजन श्रीमद्भागवत महापुराण प्रचारप्रसार उपसमिति संयोजक तथा पार्क एवम् मन्दिर निर्माण समितिका कार्यसमिति सदस्य लक्ष्मण बरालले गरेका थिए । कार्यक्रम सञ्चालन समितिका सचिव लक्ष्मणप्रसाद कोइरालाले गरेका थिए ।
भेलामा वडा नं. ५ का सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्व, विभिन्न आमा समूह, टोल विकास संस्था, सङ्घसंस्था तथा जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।