मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

श्रीधर खनाललाई सामाजिक सेवा सम्मान

पोखरा । कर्मफ्लाइट्स फाउन्डेशन नेपाल पोखराले स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय महासचिव तथा मेडिहब फर्मास्युटिकल्स प्रा.लि.का प्रबन्ध निर्देशक श्रीधर खनाललाई २०८२ फागुन १६ गते दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको छ ।

सम्मान ग्रहण गर्दै खनालले पश्चिम नेपालका दुर्गम क्षेत्रका विद्यालयहरूमा प्राथमिक उपचार सामग्री उपलब्ध गराउने तथा सरकारी स्वास्थ्य चौकीहरूमा गुणस्तरीय औषधि संस्थामार्फत उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले ग्रामीण समुदायको स्वास्थ्य सशक्तीकरणका लागि फाउन्डेशनले सञ्चालन गर्दै आएको अभियानलाई दिगो विकाससँग जोडिएको महत्वपूर्ण कार्यको रूपमा प्रशंसा गर्नु भयो ।

एक जिम्मेवार नागरिक तथा औषधि व्यवसायीको हैसियतले यस्ता सामाजिक कार्यमा साथ दिनु आफ्नो न्यूनतम दायित्व भएको उल्लेख गर्दै खनालले फाउन्डेशनलाई अन्य पेशागत सङ्घसंस्थासँग जोड्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

गण्डकी प्रदेश औषधि व्यवसायी सङ्घसँग समन्वय गर्न सुझाव दिँदै आफू र फाउन्डेशनबिच सेतुको भूमिका निर्वाह गरेका कृष्णप्रसाद पाण्डेको प्रशंसा गर्नु भयो ।

खनालको कम्पनीले अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइका लागि गुणस्तरीय निःशुल्क औषधि उपलब्ध गराएको स्मरण गर्दै भविष्यमा पनि यस्तै सहयोगलाई निरन्तरता दिने उहाँले बताउनु भयो ।

साथै प्रारम्भिक बाल शिक्षा सुधार र साना बालबालिकालाई सिर्जनात्मक तथा खेलमैत्री वातावरणमा शिक्षित गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

कार्यक्रममा गौरा‍क्षा केन्द्र व्यवस्थापन समिति, घाँचोकका नव–निर्वाचित अध्यक्ष तथा सचिवलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तै नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबका नवनिर्वाचित अध्यक्ष लक्ष्मणबहादुर थापा तथा पोखरा पन्छी समाजका नवनिर्वाचित अध्यक्ष शेषकान्त शर्मालाई समेत सम्मान गरिएको थियो ।

नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत सहकार्य र सामाजिक अभियानमा हातेमालो गर्ने अपेक्षा गरिएको थियो ।

फाउन्डेशनकी अध्यक्ष शर्मिला शर्माले विशिष्ट व्यक्तित्वलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउँदै स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नु भयो ।

स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले खनालको परिचय प्रस्तुत गर्दै दीर्घकालीन सहकार्यका लागि फाउन्डेशनको अवधारणा पत्र प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले आगामी योजनाबारे जानकारी दिँदै रुकुम पूर्वमा आगामी जेठ असारभित्र हिमालय आँखा अस्पतालसँगको सहकार्यमा १० दिने बृहत् आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने जानकारी दिनु भयो ।

यसैगरी पोखरा र निसीखोलामा अन्तर्राष्ट्रियस्तरको शिक्षक तालिम, निसीखोला गाउँपालिका-२ अर्नाकोट क्षेत्रमा खानेपानी तथा सरसफाइ परियोजना, ६ विद्यालयमा आइसीटी कम्प्युटर ल्याब स्थापना, डोल्पा र मुस्ताङका १२ विद्यालयमा टेलिस्कोप हबसहित खगोल शिक्षा कार्यक्रम सञ्चालन तथा डोल्पा, रुकुम पूर्व र ढोरपाटन क्षेत्रमा १ हजार ५ सय बालबालिकालाई न्यानो ज्याकेट, जुत्ता र मोजा वितरण गर्ने योजना रहेको जानकारी गराइयो ।

कर्मफ्लाइट्सले हाल पाँच जना महिलालाई सिलाइ तालिम प्रदान गरी पुनःप्रयोग गर्न मिल्ने प्याड उत्पादन गरिरहेको तथा किशोरीहरूलाई मासिक धर्म स्वच्छता व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाइएको छ । कार्यक्रमको सञ्चालन सचिव कुलप्रसाद अधिकारीले गर्नुभएको थियो ।

Author

Related News