मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सराङ्कोट सहकारीको नेतृत्व बानियाँलाई

पोखरा । पोखरास्थित सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले शिवबहादुर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

नवगठित कार्यसमितिमा रामणी पौडेल उपाध्यक्ष, जयराम पौडेल सचिव र शिवबहादुर थापा कोषाध्यक्षमा चयन हुनु भएको छ ।

यस्तै, छविलाल तिमिल्सिना, आरती श्रेष्ठ, रिता क्षेत्री, ध्रुवकुमार सुञ्चौरी, र पुष्पा महर्जन सञ्चालक सदस्यमा निर्वाचित हुनु भएको छ ।

लेखा समिति संयोजकमा कुलप्रसाद सुवेदी तथा मायकुमारी शर्मा र तारादेवी थापा सदस्यमा चयन हुनु भएको छ ।

सभाको उद्घाटन संस्थाका ज्येष्ठ सदस्य अधिवक्ता डा. कृष्णगोपाल पराजुलीले गर्नु भएको थियो । उहाँले सहकारीमा सदस्यहरूको सक्रिय सहभागिता नै संस्थाको सफलताको आधार भएको उल्लेख गर्नु भयो ।

अध्यक्ष कृष्णबहादुर थापाले प्रस्तुत गर्नु भए अनुसार हाल सहकारीमा ६ सय ३९ जना शेयर सदस्य रहेका छन् ।

संस्थाले यस आर्थिक वर्षमा १ अर्ब ८९ करोड रुपियाँ बचत सङ्कलन गरेको छ भने १ अर्ब ७८ करोड रुपियाँ बचत फिर्ता गरेको छ ।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल लगायतका वक्ताहरूले आआफ्ना धारणा राख्दै सहकारीको दिगो विकासका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा  शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल, शेयर सदस्यहरू मध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहन सहित संस्थामा उत्कृष्ट कर्मचारी  सम्मान पवन श्रेष्ठ, सदस्यमध्ये ज्येष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । 

कार्यक्रममा पूर्व अध्यक्ष प्रेमबहादुर जि.सी, सुशीलराज पराजुली, सल्लाहकार सोभियतबहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन, इन्द्रकमल मानन्धर, निर्वाचन समिति संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेशबहादुर अधिकारी,  सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगायतले सहकारीलाई  दिगो रूपमा परिणाम दिन सक्ने गरी योजना बनाउनु पर्ने उल्लेख गर्नु भयो  ।

२०६३ सालमा सामुदायिक सहभागितासहित रेडियो सराङ्कोट सञ्चालन गर्दै सहकारीले सामाजिक तथा रचनात्मक गतिविधिहरू, रक्तदान तथा शैक्षिक सहयोग कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले सहकारीले आगामी दिनमा अझ प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।

Author

Related News