मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

अपाङ्गता भएका किशोर तथा किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम

सिन्धुली । अपाङ्गता भएका किशोर तथा किशोरीहरुका लागि दुईदिने यौत तथा प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम सिन्धुलीमा सुरु भएको छ ।

सिन्धुली अपाङ्ग महिला सङ्घको आयोजना तथा यूवि लिज फाउण्डेसन फिनल्याण्ड नेपालको आर्थिक सहयोगमा आयोजित तालिम भोलि सम्पन्न हुने जनाइएको छ ।

कार्यक्रममा स्वाधिन खबर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अपाङ्गता भएका व्यक्तिहरुको ठुलो योगदान रहेको बताउनु भयो ।

उहाँले नेपालको संविधान र अपाङ्गता भएका व्यक्तिलाई समेट्ने गरी बनाइएका कानुनहरुलार्ई कार्यान्वयन गर्न जोड दिनु भयो ।

दुईदिने तालिमबाट सिकेका विषयवस्तुहरुलाई आआफ्नो गाउँटोलमा गएर सिकाउन उहाँले सहभागीहरुलाई आग्रह समते गर्नु भयो ।

समाजमा रहेका लैङ्गिक विभेद, कुसंस्कार, विकृति र विसङ्गति अन्त्यका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको प्रधान सम्पादक खड्काको धारणा छ ।

अपाङ्ग कल्याण सङ्घका अध्यक्ष इच्छाबहादुर सार्कीले जिल्लाभरि रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागि आयआर्जनमा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

सिन्धुली अपाङ्ग महिला सङ्घकी अध्यक्ष दिलकुमारी देवकोटाले यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको जानकारी दिनु भयो ।

तालिममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैङ्गिक समानता र सामाजिक दृष्टिकोण, सुरक्षा र हिंसाविरुद्ध संरक्षण, कानुनी पक्ष, जीवन सीप र व्यवहार परिवर्तन लगायतका बिषयहरुका बारेमा जानकारी प्रदान गरिने छ ।

जिल्ला अस्पताल सिन्धुलीका नर्सिङ अधिकृत अनु ढकाल र नर्स प्रमिला श्रेष्ठले तालिमको सहजीकरण गर्नुभएको छ । आयोजकका अनुसार तालिममा २५ जनाको सहभागिता रहेको छ ।

Author

Related News