छात्र–छात्रा दुवैतर्फ शान्त मावि भकुण्डे च्याम्पियन
पोखरा । कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय “सातौँ सृजना कप”छात्र/छात्रा भलिबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेल प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता २०८२ पुस २२ गतेदेखि २४ गतेसम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन गरिएको थियो ।
सृजना विकास केन्द्रको आयोजनामा, कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा जिल्ला भलिबल संघ कास्कीको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।
शान्त माविको उपाधि रक्षा
प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ शान्त माध्यमिक विद्यालय पोखरा–१८, भकुण्डेले पहिलो स्थान हासिल गर्दै उपाधि रक्षा गरेको छ । गत वर्ष पनि यही विद्यालयले दुवैतर्फ उपाधि जितेको थियो ।
फाइनल खेलमा छात्रतर्फ शान्त माविले गौरीशङ्कर माध्यमिक विद्यालय, हेम्जालाई र छात्रातर्फ कन्या माध्यमिक विद्यालय, नदीपुरलाई समान २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका सचेतक प्रकाश बरालले विद्यालय र स्थानीय तहबाट उत्पादन भएका खेलाडीहरूले खेलमार्फत आफ्नो क्षेत्रको पहिचान स्थापित गर्न सक्ने बताउनु भयो ।
उहाँले खेल जित्नुभन्दा सिक्ने र हार्नुभन्दा अभ्यास गर्नुपर्नेमा जोड दिँदै तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
नागरिक मञ्च गण्डकीका संयोजक विष्णुप्रसाद बरालले विद्यालयस्तरमा खेलकुदलाई प्राथमिकता दिइनु सकारात्मक भएको बताउनु भयो ।
सामाजिक अभियन्ता भीमप्रसाद पौडेलले खेलकुद युवालाई सकारात्मक दिशामा लैजाने प्रभावकारी माध्यम भएको धारणा व्यक्त गर्नु भयो ।
सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक बालकृष्ण बरालले गर्नुभएको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नतिजा विवरण
छात्रतर्फ
- पहिलो: शान्त माध्यमिक विद्यालय, पोखरा–१८ भकुण्डे
- दोस्रो: गौरीशङ्कर माध्यमिक विद्यालय, पोखरा–२५ हेम्जा
- तेस्रो: माछापुच्छ्रे माध्यमिक विद्यालय, सार्दिखोला
छात्रातर्फ
- पहिलो: शान्त माध्यमिक विद्यालय, पोखरा–१८ भकुण्डे
- दोस्रो: कन्या माध्यमिक विद्यालय, पोखरा–३ नदीपुर
- तेस्रो: कालीका माध्यमिक विद्यालय, पोखरा–१० रामबजार
वेस्ट प्लेयर
- अपेक्षा सुनार (छात्रा) र समीर विक (छात्र) – जनही ५ हजार रुपियाँ र ट्रफी
उत्कृष्ट प्रशिक्षक
- दिनेश चौधरी (शान्त मावि)– २ हजार रुपियाँ
विधागत उत्कृष्ट खेलाडी
छात्रातर्फ:
- वेस्ट स्पाइकर: सञ्जिता फगामी (कन्या)
- वेस्ट ब्लकर: सृजना दर्जी (कालीका)
- वेस्ट सर्भर: पृथ्वी गाहा (शान्त)
- वेस्ट सेटर: सृजना श्रेष्ठ (शान्त)
- वेस्ट डिफेन्डर: स्मारिका राना (कालीका)
छात्रतर्फ:
- वेस्ट स्पाइकर: रिजन विक (गौरीशङ्कर)
- वेस्ट ब्लकर: निश्चल विक (शान्त)
- वेस्ट सर्भर: रोशन विक (गौरीशङ्कर)
- वेस्ट सेटर: रोहन तामाङ (माछापुच्छ्रे)
- वेस्ट डिफेन्डर: ईश्वर तामाङ (माछापुच्छ्रे)
पुरस्कार तथा सम्मान
छात्र तथा छात्रा दुवैतर्फ
- विजेता टिमलाई १ लाख रुपियाँ,
- उपविजेतालाई ६० हजार रुपियाँ,
- तृतीय स्थानलाई ३५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।