पोखरा । गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका लागि गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले तेस्रो पटक सेवा प्रवेश तालिम सम्पन्न गरेको छ ।
पुस २१ गतेदेखि सञ्चालन भएको पाँच कार्यदिने सेवा प्रवेश तालिम पुस २५ गते औपचारिक रूपमा समापन भएको हो ।
तालिम समापन समारोह गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबू तिवारीको अध्यक्षता तथा गण्डकी प्रदेश लोकसेवा आयोगकी सदस्य कल्पना लम्सालको प्रमुख आतिथ्यतामा राष्ट्रिय परीक्षा बोर्डको सभाहलमा सम्पन्न भयो ।
समापन समारोहमा बोल्दै प्रमुख अतिथि लम्सालले प्रदेश लोकसेवा आयोगले सैद्धान्तिक तथा केही व्यवहारिक ज्ञानको परीक्षण गरी हजारौँ प्रतिस्पर्धीमध्येबाट कर्मचारी छनोट गर्ने गरेको उल्लेख गर्नु भयो ।
उहाँले तालिम प्रदायक प्रतिष्ठानहरूले नवप्रवेशी कर्मचारीको सीप, व्यवहारिक ज्ञान र क्षमता विकास गरी जनतासँग प्रत्यक्ष जोडिने सेवा प्रवाहलाई सहज, प्रभावकारी, कुशल र पारदर्शी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
यस प्रकारका सेवा प्रवेश तालिमले कर्मचारीलाई जिम्मेवार र दक्ष सेवाप्रदायक बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
समारोहमा प्रतिष्ठानका उपसचिव नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको समिक्षा प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले गर्नुभएको थियो ।
सहभागीहरूको तर्फबाट सुमन पौडेल र रविना कुलुङले तालिम व्यावहारिक तथा अभ्यासमूलक भएकाले दैनिक कार्यसम्पादनका क्रममा आइपर्ने समस्याहरू समाधान गर्न यस्ता तालिम अत्यन्त उपयोगी हुने अनुभव साझा गर्नुभएको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहायकस्तर चौथो र पाँचौँ तहका प्रशासन तथा प्राविधिक तर्फका ४७ जना कर्मचारी सहभागी भएका थिए ।

तालिम सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाको हल तथा राष्ट्रिय परीक्षा बोर्डको हलमा सञ्चालन गरिएको थियो ।
तालिममा स्थानीय तहका कर्मचारीको दैनिक कार्यसम्पादनलाई सहज बनाउने उद्देश्यले स्थानीय तहको काम, कर्तव्य र अधिकार, खरिद प्रक्रिया, बजेट निर्माण तथा व्यवस्थापन, विकास योजना, भवन निर्माण मापदण्ड, योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, जिन्सी व्यवस्थापन, स्थानीय तहको राज्यस्व अधिकार र परिचालन, उपभोक्ता समितिको काम कर्तव्य तथा अधिकार, सामाजिक सुरक्षा तथा पञ्जीकरण, अभिलेख व्यवस्थापन, समस्या केन्द्रित अभ्यास तथा प्रस्तुतीकरणलगायत विषयमा सहजीकरण गरिएको थियो ।
तालिमका संयोजक तथा व्यवस्थापन एवम् प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले प्रशासन तथा प्राविधिक दुवै तर्फका नवप्रवेशी सहायकस्तर कर्मचारीहरूलाई प्रशासनिक ज्ञानसँगै प्राविधिक ज्ञान पनि आवश्यक पर्ने भएकाले व्यवहारिक अभ्यासमा आधारित प्रशिक्षण दिइएको जानकारी दिनु भयो ।
यसैबिच, प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाका अनुसार प्रतिष्ठानको आयोजनामा मङ्सिर १४ देखि १९ गतेसम्म प्रशासन तर्फका दुई समूह, मङ्सिर २१ देखि २५ गतेसम्म इन्जिनियरिङ तर्फको एक समूह तथा पुस २१ देखि २५ गतेसम्म प्रशासन र कृषि तर्फका दुई समूह गरी हालसम्म १ सय ५० भन्दा बढी सहायकस्तर चौथो र पाँचौँ तहका कर्मचारीहरूले सेवा प्रवेश तालिम लिई दीक्षित भइसकेका छन् ।