पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजनामा इन्जिनियरिङ तथा स्वास्थ्य सेवातर्फका नवप्रवेशी कर्मचारीहरूका लागि सेवा प्रवेश तालिम सम्पन्न भएको छ ।
“व्यवहारमा परिवर्तन, कार्यसम्पादनमा सुधार” नारालाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त तालिममा गण्डकी प्रदेश लोकसेवा आयोग पोखराबाट २०८२ बैशाख १ पछि सिफारिस भई प्रदेश तथा स्थानीय तहमा सहायकस्तर चौथो र पाँचौँ तहमा कार्यरत कर्मचारीहरू सहभागी थिए ।
पोखरामा २०८२ माघ १९ गतेदेखि सुरु भएको पाँच दिने तालिम २०८२ माघ २३ गते समापन गरिएको हो ।
समापन समारोहका प्रमुख अतिथि लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले लोकसेवा आयोगले हजारौँ प्रतिस्पर्धीबीचबाट छनोट गरी कर्मचारी सिफारिस गर्ने गरेको उल्लेख गर्दै प्रतिष्ठानद्वारा प्रदान गरिने तालिमले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक सीपमा रूपान्तरण गर्ने बताउनु भयो ।
उहाँले यस्तो तालिमले सेवा प्रवाहलाई सहज, पारदर्शी, सेवामुखी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिनाले सार्वजनिक प्रशासन तथा खरिद व्यवस्थापनमा केन्द्रित तालिमले कर्मचारीहरूलाई निजामती प्रशासनको कार्य, कर्तव्य र अधिकारबारे व्यवहारिक ज्ञान प्रदान गरेको जानकारी दिनु भयो ।
सहभागीहरूको तर्फबाट अङ्कित बोहोरा र अकिता कार्कीले तालिम व्यावहारिक, सीपमूलक र अभ्यासमुखी भएको भन्दै कार्यालयको दैनिक प्रशासनिक कार्य तथा खरिद व्यवस्थापनमा देखिने समस्याको समाधान गर्न सहयोग पुगेको अनुभव व्यक्त गरे ।

तालिममा सार्वजनिक प्रशासन, निजामती ऐन, कानुन, खरिद प्रक्रिया, बजेट निर्माण तथा व्यवस्थापन, योजना कार्यान्वयन, अनुगमन मूल्याङ्कन, जिन्सी व्यवस्थापन, लेखा परीक्षण, बेरुजु फर्छ्यौट, अभिलेख व्यवस्थापन, टिप्पणी लेखन, दर्ता–चलानी, सुशासन, सदाचार तथा समस्या केन्द्रित अभ्यासजस्ता विषयमा सहजीकरण गरिएको थियो ।
तालिम संयोजक तथा प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलका अनुसार प्राविधिक सेवाका कर्मचारीहरूलाई प्रशासनिक ज्ञान पनि उत्तिकै आवश्यक हुने भएकाले दुवै पक्षलाई समेटेर प्रशिक्षण दिइएको हो ।
तालिममा स्वास्थ्य तथा इन्जिनियरिङ सेवातर्फका ६८ जना कर्मचारी सहभागी भएका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले तालिमले कर्मचारीहरूको क्षमता विकास गर्दै कार्यसम्पादन सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै प्रतिष्ठान निरन्तर सीप अभिवृद्धिमा क्रियाशील रहने बताउनु भयो ।
कार्यक्रममा हालै प्रदेश लेखा नियन्त्रकको कार्यालयमा सरुवा हुनु भएकी प्रतिष्ठानकी लेखा अधिकृत सिर्जना गौतमलाई सम्मान तथा बिदाई गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालन भएको तालिम सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखा र राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको हलमा सञ्चालन गरिएको थियो ।
यसअघि २०८२ मङ्सिर १४ देखि हालसम्म प्रशासन, इन्जिनियरिङ, स्वास्थ्य तथा कृषि सेवातर्फ गरी सात समूहमा सेवा प्रवेश तालिम सञ्चालन भइसकेको र ती तालिमबाट २ सय २० जनाभन्दा बढी कर्मचारी दीक्षित भइसकेको लेखा अधिकृत प्रशान्त सुवेदीले जानकारी दिनु भयो ।