मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अधिकारीको २४ औँ स्मृतिमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता

लमजुङ । २४औँ मुक्तिनाथ अधिकारी स्मृति दिवसका अवसरमा २०८२ माघ ३ गते पाणिनी संस्कृत माध्यमिक विद्यालय, किर्तिपुर–दुराडाँडा, लमजुङमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाणिनी संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सुन्दरबजार नगरपालिका वडा नं. ३ का अध्यक्ष अमृत नेउपानेले अध्यक्षता गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले समाजसेवी, मानवअधिकारकर्मी तथा शिक्षाप्रेमी स्वर्गीय मुक्तिनाथ अधिकारीको योगदान, विचार र बलिदानबारे आआफ्ना धारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा सर्वोच्च उच्च माध्यमिक विद्यालयका सञ्जाल मौरती पहिलो, संस्कृति सदन माध्यमिक विद्यालयका सगुन मिश्र दोस्रो तथा पाणिनी संस्कृत माध्यमिक विद्यालयका आशिष भट्ट तेस्रो हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मेयर कृष्ण कोइरालाले संस्कृत शिक्षामाथिको आक्रमणकै कारण मुक्तिनाथ अधिकारीको हत्या भएको उल्लेख गर्दै उहाँको चिरस्मरणका लागि नगरपालिका निरन्तर प्रयासरत रहने बताउनु भयो ।

साथै उहाँले अधिकारीको हत्यामा न्याय सुनिश्चित गर्न सरकारमाथि अझै प्रभावकारी दबाब दिनुपर्ने आवश्यकता औँल्याउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अनसारीले चन्दा नदिएको आरोपमा गरिएको मुक्तिनाथ अधिकारीको हत्या असह्य र पीडादायी घटना भएको उल्लेख गर्दै २४ वर्ष बितिसक्दा पनि पीडित परिवारले न्याय नपाउनु राज्यको गम्भीर असफलता भएको बताउनु भयो ।

हत्या किन गरियो र न्याय कहिले पाइन्छ भन्ने प्रश्न सरकार र राजनीतिक दललाई निरन्तर गरिरहनुपर्ने उहाँको भनाइ थियो ।

द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी अध्यक्ष गीता रसाइलीले २४ वर्षसम्म राज्यले द्वन्द्वपीडितलाई न्याय दिन इमानदार प्रयास नगरेकाले पीडित परिवारहरूले न्याय नपाएको र त्यसकै परिणामस्वरूप समाजमा असन्तोष बढ्दै गएको बताउनु भयो ।

एम्नेष्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले एम्नेष्टी इन्टरनेशनल नेपाल सधैँ द्वन्द्वपीडितको न्यायका पक्षमा उभिँदै आएको बताउँदै सरकारले विश्वसनीय विधि–प्रक्रिया अवलम्बन नगरी दलका निष्ठावान व्यक्तिहरूलाई मात्र समेटेर बनाइएका आयोगहरूले पीडितलाई झुलाउने काम मात्र गरेको आरोप लगाउनु भयो ।

कार्यक्रमका अध्यक्ष एवम् वडा अध्यक्ष अमृत नेउपानेले सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको पहलमा मुक्तिनाथ अधिकारी स्मृति द्वार र स्मृति पार्क निर्माणको कार्यप्रक्रिया सुरु हुन लागेको जानकारी गराउनु भयो ।

Author

Related News