मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्युटारमा दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ललितपुर । बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारमा आयोजित दोस्रो वडाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

ब्याडमिन्टन सङ्घ प्युटारको आयोजना तथा बागमती गाउँपालिका वडा नम्बर ४ प्युटारको आर्थिक सहयोगमा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८२ पुस १० गतेदेखि पुस १२ गतेसम्म सञ्चालन गरिएको थियो ।

कालिदेवी माध्यमिक विद्यालय, प्युटारको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा बागमती गाउँपालिका र बकैया गाउँपालिकाका गरी २० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो हुने टिमले नगद रु. २० हजार, दोस्रो हुने टिमले रु. १० हजार, तेस्रो हुने टिमले रु. ५ हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. २ हजार ५ सय प्रदान गरिएको छ ।

साथै उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद, मेडल तथा प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो ।

प्रतियोगिता लिग तथा नकआउट प्रणालीअनुसार सञ्चालन गरिएको थियो । प्रतियोगितामा बागमती गाउँपालिकाका दीपङ्कर तामाङ र मिलन लामा पहिलो, किसन लामा र एनसेल लामा देस्रो, कल्याण लामा र कपिल कुँवर तेस्रो तथा बकैया गाउँपालिका–१० मन्थलीका सहदेव लामिछाने र लेखबहादुर लामिछानेले सान्त्वना पुरस्कार पाउनु भयो ।

समापन समारोहका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले स्थानीय तहबाट उत्पादन भएका खेलाडीहरूले विभिन्न खेलमार्फत आफ्नो क्षेत्रको पहिचान स्थापित गर्न सक्ने बताउनु भयो ।

क्रिकेटमार्फत नेपाली खेलाडीहरूले विश्वमा नाम चिनाएजस्तै ब्याडमिन्टनमार्फत पनि यस क्षेत्रका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाउने सम्भावना रहेको उहाँको भनाइ थियो ।

खेलकुद क्षेत्रलाई अपेक्षित रूपमा अघि बढाउन नसकेको स्वीकार गर्दै उहाँले आगामी दिनमा अझ व्यवस्थित योजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा वडा नम्बर ४ प्युटारका वडाध्यक्ष रामकुमार लामाले खेलकुद युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले लागूऔषध दुर्व्यसन तथा नकारात्मक गतिविधिबाट युवाहरूलाई टाढा राख्न सहयोग पुग्ने बताउनु भयो ।

उहाँले वडाभित्र खेलकुद गतिविधिलाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले ‘जित्नेभन्दा सिक्ने, हार्नेभन्दा अभ्यास गर्ने’ सोचलाई आत्मसात गर्दै सबै खेललाई योजनाबद्ध रूपमा अघि बढाउन बजेट व्यवस्थापन गरिने जानकारी दिनु भयो ।

वडामा ब्याडमिन्टनको कभर्ड हल निर्माणका लागि योजना तयार गर्न ब्याडमिन्टन सङ्घ प्युटारलाई उहाँले आग्रह गर्नु भयो ।

कार्यक्रममा वडा सदस्य, जनप्रतिनिधि, बुद्धिजीवी, युवाहरू, श्री कालिदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ठाकुर लामा तथा विभिन्न खेल सङ्घ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

ब्याडमिन्टन सङ्घ प्युटारका संयोजक दीपक लामाले वडास्तरबाट दोस्रोपटक प्रतियोगिता आयोजना गर्न सहयोग गरेकोमा वडा कार्यालयलाई धन्यवाद दिँदै गाउँगाउँमै खेलकुद सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश यस प्रतियोगिताले दिएको बताउनु भयो ।

सबैको साथ, सहयोग र हौसलाले गाउँमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।

स्थानीय तहमा खेलकुदको महत्त्व उजागर गर्दै युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उहाँले जानकारी दिनु भयो ।

Author

Related News