पोखरा । पोखरा महानगरपालिका-२५, हेम्जामा ‘दोस्रो हेम्जा मौरी महोत्सव-२०८३’ सुरु भएको छ ।
‘स्वस्थ मानव, समृद्ध जीवन, वातावरणीय सन्तुलनका लागि मौरी संरक्षण अभियान’ भन्ने मूल नारासहित मौरीपालन व्यवसायको प्रवर्धन, मौरी संरक्षण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
मौरी संरक्षण तथा सचेतना अभियान पोखरा-२५ को आयोजनामा फुर्केटारी चोक, हेम्जामा जेठ ७ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुने संस्थाका अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले एक कार्यक्रमबिच महोत्सवको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा मन्त्री कार्कीले महोत्सवले कृषि क्षेत्र तथा कृषकलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै कृषकहरूलाई तालिम, अनुभव आदानप्रदान तथा व्यवसायिक क्षमता अभिवृद्धिको अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष महादेव अधिकारीका अनुसार महोत्सवमा मौरीपालनसम्बन्धी जानकारीमूलक कार्यक्रम, कृषि प्रदर्शनी तथा स्थानीय उत्पादनहरूको प्रदर्शन गरिएको छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले बढ्दो विषादी प्रयोग, वन विनाश तथा वातावरणीय प्रदूषणका कारण मौरी सङ्कटमा पर्दै गएको अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।
यस्तो अवस्थामा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको महोत्सव समयसापेक्ष र प्रशंसनीय रहेको उहाँको भनाइ थियो ।
उहाँले पोखरा उद्योग वाणिज्य सङ्घ सधैँ कृषि, स्थानीय उत्पादन, उद्यमशीलता तथा वातावरण संरक्षणको पक्षमा रहेको उल्लेख गर्दै मौरीपालनले मह उत्पादन मात्र नभई किसानको आम्दानी वृद्धि, आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले मौरीपालनको महत्त्वबारे चर्चा गर्दै मौरी संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी, मौरी महासङ्घ कास्कीका अध्यक्ष भद्र बराललगायतले पनि मौरी संरक्षण तथा यसको महत्त्वबारे आफ्ना धारणा राख्नुभएको थियो ।
महोत्सवका अवसरमा युवा उद्यमी बाबुराम दाहाललाई सम्मान गरिएको थियो । साथै, कलाकार जीवन दाहालका अनुसार महोत्सवमा कलाकार राजु परियारसहित अन्य ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ ।
महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, कृषक तथा विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ ।