मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

झुम्का कारागारमा स्क्रब टाइफस, डेङ्गी र इन्फ्लुएन्जा फैलिएको पुष्टि

विराटनगर । सुनसरीको झुम्का कारागारमा स्क्रब टाइफस, डेङ्गी र इन्फ्लुएन्जा फैलिएको पुष्टि भएको छ ।

कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि गरिएको स्वास्थ्य परीक्षणमा यी तीन रोग देखिएको हो ।

कारागारमा २०८२ भदौ १८ गते आयोजित स्वास्थ्य शिविरमार्फत ६३ जनाको रगत सङ्कलन गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो ।

झुम्का कारागारमा १३ दिनमै तीन जनाको मृत्यु

प्रतिष्ठानको प्रतिवेदनअनुसार कैदीबन्दीहरूमा स्क्रब टाइफस, डेङ्गी र इन्फ्लुएन्जा पुष्टि भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार केहीमा जापनिज इन्सेफ्लाइटिसको आशङ्का भए पनि त्यसको रिपोर्ट आउन बाँकी छ ।

१ हजार ६ सय जना क्षमताको झुम्का कारागारमा हाल ‘ए’ र ‘बी’ ब्लक गरी १ हजार ७ सय ९८ जना कैदीबन्दी छन् ।

त्यसमध्ये तीन सयभन्दा बढी बिरामी परेका थिए भने केही सङ्ख्यामा कैदीबन्दी अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।

‘कारागार प्रशासनभित्र अर्को प्रशासन छ’

कारागारमा खटिएका चिकित्सकहरूले सुरुमा भाइरल ज्वरोको आशङ्का गरेकामा प्रयोगशालाबाट रिपोर्ट आएपछि रोग अनुसार परीक्षण र उपचार मिलाइने जेलर सुवासकुमार लामिछानेले जानकारी दिनु भएको छ ।

चिकित्सकहरूका अनुसार स्क्रब टाइफस किर्नाको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो ओरेन्सिया सुसुगामुसी नामक जीवाणुबाट फैलिन्छ, जसको उपचार ढिला गर्दा ज्यान जाने जोखिम रहन्छ ।

डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो भने इन्फ्लुन्जा सङ्क्रमित व्यक्तिको हाच्छ्युँ, खोकी वा कुराकानीमार्फत हावामा सजिलै फैलिने भाइरस हो ।

Author

Related News