मधु पन्थी, पोखरा ।
नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), गण्डकीले छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई मोसो दलेर दुर्व्यवहार गरेको छ ।
विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण-अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, भ्रष्टाचार र अनियमितता गरेको आरोपमा लगाउँदै पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहारीलाई २०८२ असार २७ गते दुर्व्यवहार गरेको क्रान्तिकारीले जनाएको छ ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले प्रेस विज्ञप्तिमार्फत मोसो दलेको घटनाको जिम्मेवारी लिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकपछि मात्रै घटनाका बारेमा जानकारी दिने र थप कदम अगाडि बढाइने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

घटनाको विरोध स्वरूप नेकपा एमाले पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष बिक्रम गुरूङले विज्ञप्तिमार्फत घोर भर्त्सना गर्दै दोषीलाई पहिचान गरी तत्कालै कडा भन्दा कडा सजायको दायरामा ल्याउन सम्बधित निकायको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
नेपाल शिक्षक महासङ्घ जिल्ला समिति कास्कीले पनि एक विज्ञप्ति प्रकाशन गर्दै घटनाको विरोध गरेको छ ।
