ललितपुर । लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणको प्रक्रियामा रहेको छ।
नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाएपछि पोखरीलाई पुरानै ऐतिहासिक स्वरूपमा फर्काउने उद्देश्यसहित पछिल्ला दुई महिनादेखि पुनर्निर्माणको काम अघि बढाइएको हो।
पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाको नेतृत्वमा भइरहेको छ। यसअघि पोखरी नमुना मच्छिन्द्र माविको नाममा दर्ता थियो, तर सर्वोच्च अदालतको आदेशले उक्त दर्ता खारेज गरेपछि ऐतिहासिक सम्पदा जोगाउने काम सहज बनेको हो।
अदालतको आदेशपछि १४ रोपनी क्षेत्रफलको लालपुर्जा सप्तपाताल पोखरीको नाममा दर्ता गरिएको छ।
लिच्छविकालीन यो पोखरी पुनः जीवन पाउने कुरामा स्थानीय बासिन्दा खुसी छन् र पुनर्निर्माणले सांस्कृतिक सम्पदाप्रतिको सम्मानलाई पुनः उजागर गर्ने विश्वास गरिएको छ।