ललितपुर । चापागाउँमा कार्यालय रहेको सम्झना कृषि सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक उत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष चुडाप्रसाद घिमिरेको अध्यक्षतामा २०८३ साउन ३० गते आयोजित कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति तथा केन्द्र अध्यक्षहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा केन्द्र अध्यक्षहरूको नेतृत्व विकाससम्बन्धी तालिमसमेत सञ्चालन गरिएको सचिव राजेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
वार्षिक उत्सवका अवसरमा सहकारीले आफ्ना शेयर सदस्य, कृषक तथा स्थानीय समुदायको हितमा गर्दै आएका गतिविधिबारे समीक्षा गरिएको थियो ।
संस्थाले ललितपुर जिल्लाभर आफ्नो कार्यक्षेत्र विस्तार गरी कृषक तथा शेयर सदस्यको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ ।
सम्झना कृषि सहकारीमा हाल करिब २ हजार १ सय शेयर सदस्य रहेका र संस्थाले करिब ३० करोड रुपियाँ बराबरको कारोबार गर्दै आएको सहकारीले जनाएको छ ।

कार्यक्रममा सहकारीको आगामी कार्यदिशा, संस्थागत क्षमता विकास, सदस्यको आर्थिक उन्नति तथा कृषिसँग सम्बन्धित गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो ।
चौधौँ वार्षिक उत्सवले संस्थाका पदाधिकारी, उपसमिति तथा केन्द्र अध्यक्षहरूबिचको समन्वय र नेतृत्व क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रमका सहभागीहरूले सहकारीलाई कृषक तथा शेयर सदस्यको हितमा थप प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।