मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

आलमलाई सलामी, जीउँदै छन् घटनाका घाइते र मलामी !

ललितपुर । जिल्ला अदालतले दोषी करार गर्दै २० वर्ष कैदको फैसलाविरुद्ध उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई सफाइ दिएर नेपालको न्यायिक क्षेत्रबारे विभिन्न टिकाटीप्पणी सुरू भएको छ ।

पूर्वमन्त्रीले सलामी पाइरहँदा घटनामा घाइते भएका तथा घटनाका जीवित साक्षी गौरीशङ्कर राम बमबाट ‘विरुप’ भएको अनुहार लिएर काठमाडौँ आउनु भएको छ ।

उहाँ यो अनुहार देखाउन मात्रै नभएर घटनाको प्रमाण बोकेर आउनु भएको हो । उहाँको अनुहार नै प्रमाणका लागि काफी रहेको अधिकारकर्मीहरू बताउँछन् ।

घाइते र मलामी जीउँदै रहेका र यथेष्ट प्रमाण हुँदाहुँदै पनि न्यायलयले पीडितलाई न्याय दिन सकेन भने आरोपितलाई घटनाबाट उन्मुक्ति दिने फैसला सुनायो ।

यसैबिच महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमलाई सफाइ दिँदा लिएका आधारहरूप्रति आपत्ति जनाउँदै पुनरावेदन गर्ने निर्णय गरेको छ।

महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेका हुन्। गत जेठ १४ गते वीरगञ्ज इजलासका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले उच्च अदालतको फैसला कार्यालयमा प्राप्त भएपछि अध्ययन गरिएको र पुनरावेदनमा जाने निर्णय भएको बताउनु भयो।

‘उच्च अदालतले गरेको फैसला त्रुटि पूर्ण देखियो। बुझ्नुपर्ने प्रमाण नबुझिएको र नबुझ्नुपर्ने प्रमाण बुझेर सफाइ दिएको मिलेन। त्यसैले सर्वोच्च अदालतमा पुनरावेदन पत्र तयार गरेर दर्ता गर्ने निर्णय महान्यायधिवक्ताज्यूबाट भएको छ ।’-प्रवक्ता दाहालले भन्नु भयो-‘पुनरावेदन पत्र लेख्ने काम भइरहेको छ। पुनरावेदन पत्र तयार हुने बित्तिकै यथाशक्य चाँडो सर्वोच्च अदालतमा पुनरावेदन पत्र दर्ता गर्छौं।’

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जिल्ला अदालत रौतहटले २०८० कात्तिक २९ गते जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले विष्फोटमा परी घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रसाद सिंह राजपुत र ओसी अख्तर मियालाई अभियोग दाबी बमोजिम ईटाभट्टामा जलाई कर्तव्य गरी मारेको ठहर गर्‍यो।

मोहम्मद अफताब आलम, आलमका भाइ मोहम्मद महताव आलम, शेख सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैद (२० वर्ष कैद) ठहर गरेको थियो।

तर गएको जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएपछि यस घटना र फैसलाबारे विभिन्न कोणबाट चर्चा सुरू भएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन (२०६४ चैत २७ गते) रौटहटमा विस्फोट भएको थियो । कांग्रेस उम्मेद्वार आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

आलम लगायतमाथि त्यो घटनामा संलग्नहरूलाई ज्युँदै इँटाभट्टामा पोलेको आरोप छ ।

Author

Related News