पोखरा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
पोखरा-९ पृथ्वीचोकस्थित कार्यालय परिसरमा २०८३ असोज १ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा विगतका वर्षको तुलनामा उपभोक्ताको उत्साहजनक सहभागिता रहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिनुभयो ।
उपभोक्ताको सहजताका लागि दुई ओटा काउन्टरबाट बिलिङको व्यवस्था गरिएको छ । पसलमा दैनिक ८ देखि ९ लाख रुपियाँसम्मको कारोबार हुने गरेको शेरचनले बताउनुभयो ।
सरकारको नीति तथा चाडपर्व लक्षित कार्यक्रमअनुसार दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी ११ प्रकारका खाद्यान्न सामग्री सहुलियत मूल्यमा बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो । सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुने जनाइएको छ ।
साल्ट ट्रेडिङले हरेक वर्ष दशैं, तिहार तथा छठलगायतका चाडपर्वका अवसरमा आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
पोखरामा सञ्चालित पसलबाट बजार मूल्यभन्दा कम दरमा चिनी, आयोडिनयुक्त नुन, शान्ति तेल, विभिन्न ब्रान्डका चामललगायत खाद्य सामग्री बिक्री भइरहेको शेरचनले बताउनुभयो ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी १ सय रुपियाँमा बिक्री भइरहेको छ । एक जना उपभोक्ताले अधिकतम ६ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
बजारमा सामान्यतया प्रतिकेजी १२५ देखि १३० रुपियाँसम्ममा बिक्री हुने चिनी सुपथ मूल्य पसलमा सस्तो मूल्यमा उपलब्ध भएपछि यसको माग अन्य खाद्य सामग्रीको तुलनामा बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख शेरचनले बताउनुभयो ।
गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय रहेका छन् । दुवै कार्यालयबाट उपभोक्ताले सहुलियत मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने शेरचनले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसल सञ्चालनका क्रममा बिक्रीलाई व्यवस्थित बनाउन र उपभोक्तामैत्री सेवा प्रदान गर्न ध्यान दिन आग्रह गरिएको छ। साथै, पसलको सरसफाइमा विशेष ध्यान दिन कार्यालय प्रमुखको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक बिदाका दिन भने सुपथ मूल्य पसल बन्द रहनेछ ।