मानव आवाज

२०८३ असोज १ गते
00: 00: 00
२०८३ असोज १ गते

सहारा क्लबको २८औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नारासहित २०५५ सालमा स्थापित सहारा क्लब पोखराको २८औँ वार्षिक साधारणसभा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम पोखरा महानगरपालिका-१७, दोबिल्लास्थित क्लब परिसरमा २०८३ भदौ ३० गते सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले सहारा क्लबले सामाजिक सेवा तथा खेलकुदको क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै क्लबले समाज र खेलकुद क्षेत्रमा सकारात्मक तथा उदाहरणीय काम गरिरहेको बताउनुभयो । उहाँले क्लबको आगामी यात्रा थप सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।

उहाँले संस्थागत शुद्धता, पारदर्शिता र जिम्मेवारीलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड  समाजका विपन्न तथा पिछडिएका वर्गको उत्थानका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा-१०, बुद्धचोक निवासी सञ्जु गुरुङ र उहाँका पति सिअन म्याकभअले सञ्जुकी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीको सहयोगार्थ ७८ हजार रुपियाँ क्लबका अध्यक्ष केशवबहादुर थापालाई प्रदान गर्नुभयो ।

त्यसैगरी, पोखरा महानगरपालिका-९ को कार्यालयले क्लबलाई कलर प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर वडा अध्यक्ष दीपेन्द्र मर्सानीले क्लब अध्यक्ष थापालाई प्रदान गर्नुभयो ।

सहारा क्लबले पोखरा-१७, दोबिल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हाल ३० जना बालक रहेका छन् ।

उनीहरूलाई आवासीय सुविधासहित शिक्षा र नियमित फुटबल प्रशिक्षण प्रदान गरिँदै आएको क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले जानकारी दिनुभयो ।

साधारणसभाका अवसरमा पोखराका पत्रकार तथा नयाँ पत्रिकाका संवाददाता रोहितराज पराजुलीलाई ‘सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०८२’ प्रदान गरिएको छ। पुरस्कारको राशि ३० हजार ५ सय ५५ रुपियाँ, दोसल्ला र ताम्रपत्र रहेको छ ।

मोफसलमा रहेर लामो समयदेखि पत्रकारितामार्फत पोखराको खेलकुद क्षेत्रको विकास र प्रवर्धनमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै पराजुलीलाई उक्त पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ ।

क्लबका सदस्यहरूमध्येबाट सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य-२०८२’ बाट सम्मान गरिएको छ ।

यो अवसरमा क्लबमा आबद्ध सदस्य तथा उनीहरूका परिवारका सदस्यमध्ये कक्षा १२ वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिहरूलाई समेत प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका-९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य सङ्घकी अध्यक्ष शोभा गौतम, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसी तथा प्रतिभा छनोट समितिका संयोजक एवम् संस्थाका मानार्थ सदस्य नारायण कार्की नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधवप्रसाद बराललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका महासचिव गङ्गाराम पौडेलले प्रस्तुत गर्नुभएको महासचिवको प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरी पारित गरिएको थियो ।

क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गङ्गाराम पौडेलले गर्नुभएको थियो ।

Author

सम्बन्धित समाचार