मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सुरक्षित र मर्यादित पत्रकारिता अपरिहार्य: अध्यक्ष शर्मा

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा सञ्चारकर्मीहरूका लागि तीन दिवसीय साइबर सुरक्षासम्बन्धी तालिम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालय, पोखराको आर्थिक सहयोग तथा क्यान महासङ्घ कास्कीको प्राविधिक सहकार्यमा महासङ्घको तालिम कक्षमा आयोजित उक्त तालिममा विभिन्न सञ्चार गृहमा आबद्ध ७७ जना सञ्चारकर्मी लाभान्वित भएका छन् ।

तालिम समापन समारोहलाई सम्बोधन गर्दै महासङ्घकी अध्यक्ष निर्मला शर्माले डिजिटल युगमा पत्रकारिता अझ जिम्मेवार, पारदर्शी र सुरक्षित हुनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले पत्रकारितालाई केवल समाचार सम्प्रेषणमा सीमित नराखी अनुसन्धानमूलक, मर्यादित र जवाफदेही बनाउँदै पत्रकार स्वयम् सुरक्षित रहनुपर्नेमा जोड दिनु भयो ।

समाज र आमनागरिकलाई सही सूचना प्रवाह गर्दै सकारात्मक सन्देश दिन पत्रकारहरूलाई आग्रह गर्दै उहाँले साइबर सुरक्षासम्बन्धी ज्ञान समुदायस्तरसम्म पुर्‍याउनुपर्ने बताइन् ।

तालिममा गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स, पोखराका उपप्राध्यापक इन्जिनियर सन्तोष पन्त, नविल बैङ्क प्रदेश कार्यालय पोखराका हरी ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शिवा थापा तथा मोनालटेक प्रालि काठमाडौंका निर्देशक प्रमोद न्यौपानेले सहजीकरण गर्नु भएको थियो ।

प्रशिक्षकहरूले साइबर सुरक्षा, साइबर अपराध, डिजिटल ठगी, भाइरस आक्रमण, अनाधिकृत पहुँच तथा यस्ता जोखिमबाट जोगिने उपायबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले तालिम समयसापेक्ष र उपयोगी भएको बताउनु भयो ।

सहभागी प्रशिक्षार्थीहरूको तर्फबाट पत्रकार घनश्याम पाण्डे र रोशनी गुरुङले तालिमबाट डिजिटल प्रविधिको सही प्रयोग तथा साइबर जोखिमबाट बच्ने व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिनु भयो ।

नेपाल पत्रकार महासङ्घ कास्की अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव मधु अधिकारीले गर्नु भएको थियो ।

Author

Related News