मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

रास्वपाको ‘हामी के गर्दैनौं’ ? एकपटक तपाइँ पनि पढ्नुहोस् है !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘हामी के गर्दैनौं’ शीर्षकमा १३ बुँदे प्रतिबद्धता राखेको छ ।

तपाइँले पढ्नु भयो ? छैन भने एकपटक पढ्नुहोस् है । यो अहिले सत्तारुढ शक्तिशाली दल भएको छ ।

परम्परागत राजनीतिभन्दा फरक अभ्यास गर्ने दाबी गरेको उसले लेखेका कुरा कति पालना गर्छ अब खबरदारी गर्ने काम तपाइँको हो । हिजो रास्वपाले खबरदारी गर्थ्यो अब तपाइँ पाठकको काँधमा यो जिम्मेवारी सरेको छ ।

पार्टीले जनतालाई सास्ती दिने कुनै पनि प्रकारका नेपाल बन्द, चक्काजामजस्ता कार्यक्रम नगर्ने स्पष्ट पारेको छ ।

साथै, हिंसात्मक आन्दोलनबाट टाढा रहने र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि नगर्ने प्रतिबद्धता जनाएको छ ।

रास्वपाले अपारदर्शी रूपमा चन्दा नउठाउने, योग्यता र क्षमताभन्दा बाहिर ‘टीका’ लगाएर नियुक्ति नगर्ने तथा प्रतिस्पर्धालाई प्राथमिकता दिने नीति लिएको जनाएको छ ।

प्राकृतिक स्रोतसाधनको अनुचित दोहन नगर्ने र राज्यको स्रोतसाधनको दुरुपयोग नगर्ने प्रतिवद्धता पनि उक्त घोषणामा समेटिएको छ ।

विदेश भ्रमण र उपचारमा राज्यको सम्पत्ति दुरुपयोग नगर्ने, राष्ट्रहितविपरीत कुनै सम्झौता नगर्ने तथा ‘लाजनीति’ नगर्ने स्पष्ट अडान रास्वपाले राखेको छ ।

सामाजिक सद्भावतर्फ ध्यान दिँदै पार्टीले कुनै पनि धर्म, सम्प्रदाय, जातजाति वा यौनिक अल्पसङ्ख्यकविरुद्ध द्वेष फैलाउने र भेदभाव गर्ने कार्य नगर्ने जनाएको छ ।

त्यस्तै, भ्रातृ सङ्गठन नबनाउने, अवकाशपछि राज्यबाट सुविधा नलिने, एउटै पदमा दुई कार्यकालभन्दा बढी नबस्ने तथा चुनाव हारेकालाई ‘चोर बाटो’बाट सत्तामा नल्याउने जस्ता बुँदाहरू पनि प्रतिवद्धतामा उल्लेख छन् ।

संसद्को उपस्थितिलाई पनि गम्भीर रूपमा लिँदै रास्वपाले सांसदहरू सकेसम्म अनुपस्थित नहुने र अनुपस्थित भए भत्ता नलिने प्रतिबद्धता जनाएको छ ।

रास्वपाको यो घोषणालाई ‘नगर्ने कामहरूको सूची’ मार्फत राजनीतिक स्वच्छता, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिने प्रयासका रूपमा हेरिएको छ ।

Author

Related News