मानव आवाज

२०८२ फाल्गुन २८ गते
00: 00: 00
२०८२ फाल्गुन २८ गते

गुल्मीमा पनि रास्वपाकै वर्चस्व!

गुल्मी । लुम्बिनी प्रदेशअन्तर्गतको पहाडी जिल्ला गुल्मीमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै जिल्लामा आफ्नो वर्चस्व कायम गरेको छ ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट रास्वपाका उम्मेदवार सागर ढकाल अत्यधिक मतान्तरसहित विजयी हुनु भएको छ भने क्षेत्र नम्बर-२ बाट पूर्व डिएसपी तथा अधिवक्ता गोविन्द पन्थी निर्वाचित हुनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर-१ मा ढकालले २९ हजार ६ सय ४२ मत प्राप्त गरेका गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रदीपकुमार ज्ञवालीले १५ हजार १ सय ८१ मत प्राप्त गर्नु भएको छ । ढकालले ज्ञवालीलाई १४ हजार ४ सय ६१ मतान्तरले पराजित गर्नु भएको हो ।

यस क्षेत्रमा कुल ६४ हजार ९ सय ६८ मत खसेको थियो । जसमध्ये ६३ हजार ५ सय ४६ मत सदर र १ हजार ३ सय ७५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । गुल्मी-१ मा कुल १ लाख २२ हजार १ सय ६८ मतदाता रहेका थिए ।

यसै क्षेत्रमा नेपाली कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले १३ हजार ५ सय ५ मत प्राप्त गर्नु भएको छ ।

नेकपाका सुर्दशन बरालले ३ हजार १ सय ६७ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अजतकुमार श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नु भएको छ । अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूको मत भने न्यून रहेको जनाइएको छ ।

त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नम्बर-२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थीले १६ हजार ९ सय ६७ मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गोकर्ण विष्टले १६ हजार ४ सय ६ मत प्राप्त गर्नु भएको छ । पन्थीले विष्टलाई ५ सय ६१ मतान्तरले पराजित गर्नु भएको हो ।

यसअघि भएका निर्वाचनहरूमा एमालेका उपाध्यक्ष समेत रहेका विष्टले लगातार विजय हासिल गर्दै आउनु भएको थियो ।

यस क्षेत्रमा कुल ५४ हजार ७ सय ४ मत खसेको थियो । जसमध्ये ५३ हजार १ मत सदर र १ हजार ७ सय ३ मत बदर भएको थियो । गुल्मी-२ मा कुल १ लाख ७ हजार ५ सय ९१ मतदाता रहेका थिए ।

यस क्षेत्रमा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत प्राप्त गर्नु भएको छ । नेकपाका श्रीराम महतले ३ हजार ८१ तथा राप्रपाका जनक सेनले २ सय २ मत प्राप्त गर्नु भएको छ ।

जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्, जसमा १ लाख १५ हजार २ सय १० पुरुष, १ लाख १४ हजार ३ सय ३७ महिला र २ जना अन्य मतदाता रहेका थिए ।

रास्वपाको यस सफलतामा जिल्ला सभापति भोजराज पाण्डेको भूमिका उल्लेखनीय रहेको बताइएको छ ।

उहाँले जिल्लाभर सङ्गठन परिचालन गर्दै चुनावी अभियानलाई प्रभावकारी ढङ्गले अघि बढाउनु भएको बताइएको छ ।

विशेषगरी दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको पक्षमा सङ्गठन परिचालन र समन्वयमा उहाँले सक्रिय भूमिका खेलेको स्थानीय नेताहरूले बताएका छन् ।

गत भदौमा सेवा निवृत्त भएपछि कार्तिकदेखि जिल्ला सभापतिको जिम्मेवारी सम्हाल्नु भएका पाण्डे पार्टीभित्र मिलनसार, अध्ययनशील र बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।

पार्टीभित्रको एकता, सक्रिय परिचालन र समन्वयात्मक नेतृत्वका कारण गुल्मीमा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्न सकेको स्थानीय नेताहरूको भनाइ छ ।

Author

Related News